काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी राष्ट्रहरूको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव रहेको बताएका छन्।
आज (बिहिबार) नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपालले छिमेकी देशहरू भारत र चीनसँगको सम्बन्धलाई समान प्राथमिकतामा राखेर देशको समृद्धि गर्न चाहेको समेत बताए।
नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्दै आएको उनको भनाइ थियो। दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो भएको मन्त्री साउदले बताएका छन्।
परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए। विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको उनले बताएका छन्।