काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको बजेटमा तुरुन्तै सकिने चरणमा पुगेका वहुवर्षीय आयोजनालाई मात्रै बजेट दिने बताएका छन्। चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले वर्षौँदेखि घिटी–घिटी चलिरहेका वहुवर्षीय आयोजनामा केही समय बजेट रोक्ने बताएका हुन्।
‘वहुवर्षीय स्रोत सुनिश्चित गरिए पनि तत्काल परिणाम ननिस्किने वर्षैंदेखि घिटी(घिटी चलिरहेका आयोजनामा बजेट रोकेर अर्को पटकका लागि बजेट दिनु नै सही हुन्छ,’ उनले भने,‘पुराना तर छिट्टै सम्पन्न हुनसक्ने र जनताले विकासको प्रत्यक्ष अनुभूत गराउन सक्ने आयोजनालाई यसपटक प्राथमिकतामा राखी बजेट दिएर छिटो काम सकाउनु उचित हुन्छ।
अहिले संकट भएकाले थोरै बजेट घटाएर ल्याउनुपर्छ भन्ने र संकट भएकाले समाधान गर्ने गरी यही बेलामामा राजस्वको थप क्षेत्र हेरेर झन् ठूलो बजेट ल्याउनुपर्छ भन्ने दुईथरि मत देखिएको पनि प्रधानमन्त्रीले बताए। छलफल गरेर सरकारले बीचको बाटोबाट निकास निकाल्ने उनले बताए।
प्रधानमन्त्रीले बजेटमा थुप्रै नयाँ आयोजना राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई कायम राख्दा अर्थतन्त्रलाई संकटमै पार्ने देखिएको बताए।