६ महिनाको अवधिमा भारतबाट २ अर्बको बिजुली आयात, १३ अर्ब ३८ निर्यात - Chaitanya News
  • 2026-06-01
  • 13:30:13
  • सोमबार,जेठ १८, २०८३
  • ६ महिनाको अवधिमा भारतबाट २ अर्बको बिजुली आयात, १३ अर्ब ३८ निर्यात

    ६ महिनाको अवधिमा  भारतबाट २ अर्बको बिजुली आयात, १३ अर्ब ३८ निर्यात

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा आन्तरिक आपूर्तिको व्यवस्था मिलाउन भारतबाट २ अर्ब रुपैयाँको बिजुली किनेको छ। प्राधिकरणले भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको बिजुली किनेको हो।

    सुख्खा याममा ‘रन अफ रिभर’ आयोजनाको उत्पादन घट्ने भएकाले आन्तरिक माग धान्न भारतबाट ल्याउनुपर्छ। प्राधिकरणले पुसदेखि भारतबाट बिजुली किन्न सुरु गरेको थियो। पुस र माघ महिनामा नै भारतबाट झन्डै २ अर्ब रुपैयाँको बिजुली किनेको हो।

    तर, चालू वर्षको ६ महिनाको अवधिमा नै नेपालबाट भारततर्फ १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको बिजुली बेचेको छ। नेपालबाट असारदेखि मङ्सिरसम्म भारततर्फ बिजुली निर्यात गर्न सकिन्छ। तर, यो तथ्याङ्क साउनदेखि माघ महिनासम्मको मात्रै हो।

    चालू वर्षको जेठ महिनासम्म नेपालमा भारतीय बिजुली आयात गर्नुपर्छ। तर, असार महिनामा भने निर्यात गर्न सकिन्छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो वर्षदेखि बिजुलीको व्यापारमा नेपाल नाफामा आउँछ।

    यस्तै, आगामी आर्थिक वर्षदेखि भने भारततर्फ बिजुलीको निर्यात झनै बढ्नेछ । नेपाल र भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा अन्तिम हस्ताक्षर गरिसकेका छन्। आगामी असारदेखि नेपालमा भारतलाई चालू वर्षको बेच्दै आएको परिणामको तुलनामा १ हजार मेगावाट खेर जान्छ।

    चालू वर्षमा नेपालबाट भारततर्फ साढे ६०० मेगावाट बिजुली निर्यात भएको थियो। भारततर्फको निर्यातको तथ्याङ्क आगामी आर्थिक वर्षदेखि १ हजार मेगावाटभन्दा माथिसम्म पुग्छ। जसबाट, नेपालको निर्यातको परिणाम र त्यसबाट हुने आम्दानी समेत बढ्नेछ।