पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन गण्डकी एमालेले संसदमा गर्‍यो संकल्प प्रस्ताव दर्ता - Chaitanya News
  • 2026-06-01
  • 13:30:58
  • सोमबार,जेठ १८, २०८३
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन गण्डकी एमालेले संसदमा गर्‍यो संकल्प प्रस्ताव दर्ता

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन गण्डकी एमालेले संसदमा गर्‍यो संकल्प प्रस्ताव दर्ता

    पोखरा– अघिल्लो वर्ष उद्घाटन भएर पनि अन्तर्राष्ट्रिय उडान भर्न नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन गण्डकी एमालेले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ।

    चिनियाँ कम्पनीले निर्माण गरेर अघिल्लो वर्षको मध्ये पुसमा विमानस्थल उद्घाटन गरिएको थियो। तर हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

    एमालेले बुधवार संसद् सचिवालयमा यसबारे संकल्प प्रस्ताव नै दर्ता गरेको हो। एमाले सचेतक देवका पहारीले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली मार्फत संसद् सचिव हरिराज पोखरेललाई प्रस्ताव पठाएकी हुन्।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गण्डकी प्रदेशको गौरव भएपनि चार्टर विमान बाहेक अन्तर्राष्ट्रिय जहाजहरूले उडान र अवतरण गरेका छैनन्। ‘हालसम्म केही चार्टर विमान बाहेक कुनै पनि नियमित व्यवसायीक उडान हुन सकेको छैन,’ प्रस्तावमा भनिएको छ, ‘यस विमानस्थलबाट नियमित व्यवसायीक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुको विकल्प हामी सँग छैन। आवश्यक एयर सर्भिस एग्रिमेण्ट लगायत अन्य पूर्वाधार निर्माण गरी नेपाल एयरलाइन्सको जहाज मार्फत यथाशीघ्र नियमित उडान गराउन यो संकल्प प्रस्ताव दर्ता गर्दछु।

    विमानस्थल चीनको एक्जिम बैंकको ऋण सहयोग लिएर २१५.९६५ मिलियन डलर अर्थात् २२ अर्ब रुपैयाँमा निर्माण गरिएको हो। एमालेले कम्तीमा नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न र बिस्तारै अन्य विदेशी जहाज कम्पनीलाई पनि आकर्षित गर्न नेपाल सरकारले प्रक्रिया थाल्नुपर्ने माग राखेको छ। संकल्प प्रस्तावलाई सभामुखले आवश्यक छलफल गरेर स्वीकार गरेपछि मात्रै संसदमा पेश हुन्छ। संसद् नियमावली अनुसार सचिवले दर्ता गरेको ७ दिनपछि मात्रै संसदमा छलफल हुने व्यवस्था छ।