काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण तिर्दिन भन्दै शान्ति व्यवस्था बिगार्नेलाई निगरानीमा राख्न निर्देशन दिएका छन। आज (बिहिबार) लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन्। यस्तै उनले नागरिक पहिले भन्ने कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने समेत बताए।
उनले दुर्गा प्रसाईँको अभियान लक्षित गर्दै ऋण लिएर तिर्दिन भन्दै अवाञ्छित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने, सामाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भाव खल्बल्याउने र समाजमा विग्रह ल्याउनेप्रति चनाखो हुन र निगरानीमा राख्न निर्देशन दिए।
आर्थिक रूपमा ठगिएका र गुजारा गर्न कठिन भएका नागरिकलाई सरकारले विशेष सहुलियतका कार्यक्रम ल्याउन लागेको उनले बताए।
सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपरादर्शीता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखा परेको श्रेष्ठको भनाइ छ। परिवर्तनबाट प्राप्त लाभ जनताले उपभोग गर्ने वातावरण बनाउनका लागि वर्तमान व्यवस्थाप्रति जनताको भरोसा अझ उच्च बनाउन आवश्यक रहेको उनको धारणा छ।
गृहमन्त्री श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिङ्गो प्रणाली सकारात्मक हुन जरुरी भएको औँल्याउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजामूलक कार्यढाँचा बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
दुई दिनसम्म सञ्चालन हुने सो गोष्ठीमा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत छन्।