काठमाडौँ– सरकारले चालु आर्थिक वर्षभित्र मुलुकलाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य लिएको छ। राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा यस वर्ष देशलाई नै पूर्ण खोप घोषणा गर्ने लक्ष्य रहेको उल्लेख छ। हालसम्म ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन्।
यस्तै, ७७ जिल्लामध्ये ७२ जिल्ला पूर्ण खोप घोषणा भइसकेको सो निर्देशिकामा उल्लेख छ। हालसम्म २९ स्थानीय तह र ५ जिल्ला पूर्ण खोप घोषणा हुन सकेको छैन। घोषणाका लागि कार्य गरिरहेको सरकारी निकायले जनाएका छन्।
निर्देशिका अनुसार सातवटा प्रदेशहरूमध्ये गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पूर्ण खोप घोषणा भई सकेका छन्। बागमती, मधेस र कोशी प्रदेश पूर्ण खोप घोषणा हुन बाँकी छ।
स्थानीय सरकारको अपनत्व र नेतृत्वमा विभिन्न सरोकारवालाहरूको साझेदारी र सहयोगमा खोज र खोपको रणनीति अनुसार प्रत्येक वर्ष वडा तह देखि नै पूर्ण खोप सुनिश्चितता घोषणा र घोषणा पश्चात् दिगोपना कायम गरी सम्पूर्ण बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिइएको छ।
पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि २३ महिना उमेरसम्मका बालबालिकाले खोप लगाएको अवस्थाको पहिचान र विश्लेषण हुने गरेको निर्देशिकामा उल्लेख छ।