काठमाडौँ– सहसचिवको सरुवा पुनः अलपत्र परेको छ। नयाँ पदस्थापनसहित २९ जना सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको तीन साता बित्नै लाग्दा पनि अझै निर्णय हुन सकेको छैन।
निर्णय प्रक्रिया लम्बिएसँगै सूचीमा नामावलीसमेत थपिँदै गएका छन्। २९ बाट ३३ हुँदै अहिले ४३ जनासम्म पुगीसकेको छ, अब निर्णय हुन्जेलसम्म कति पुग्ने हो यसै भन्न सकिने अवस्था देखिँदैन।
अर्थ मन्त्रालयमा पठाउने र हटाउने सहसचिवको टुुंगो नलागेको सरुवा अड्किएको छ। गोपाल कोइराला र मिमांस अधिकारीलाई अर्थ मन्त्रालय पठाउनु भन्ने माग आए पनि त्यहाँबाट कसलाई हटाउने भन्ने नाम नआइसकेकोले विलम्ब हुन पुगेको ती स्रोतको भनाई छ।
‘अर्थबाट गोपाल र मिसांसुलाई पठाउनु भन्ने आयो तर कसलाई निकाल्ने भन्ने नआएपछि रोकिएको छ’, खास स्रोतले भन्यो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मिमांसलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेश र गोपालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा गरिएको थियो।
बढुवा भएको यति लामो अवधि भई सक्दासमेत पदस्थापन हुन नपाउनु दुःखद भएको एक सहसचिव बताउँछन्। यसले निर्णयकर्ताको निर्णायक क्षमता माथिसमेत प्रश्न उठाउँछ’ ती सहसचिवले भने।
कुन आधारमा कसलाई कहाँ पठाउने भन्नेबारे सामान्य मापदण्ड समेत लागू नगर्ने गरेकै कारण पछिल्लो सरुवामा सक्नेले जहाँ पनि जाने भइरहेको छ। तर पहुँचविहीनहरूको हकमा भने नभएकै कानुन देखाएर पछि हुत्त्याइँदै आइएका कैयन् उदाहरण देख्न सकिन्छ निजामतीमा। यसअघि सरुवामा सिनियारिटिको आधार अर्थ मन्त्रालयबाट रितेश शाक्यलाई मधेस प्रदेशको अर्थ मन्त्रालयमा सरुवा गर्ने प्रस्ताव सामान्यले क्याबिनेटमा पठाएको थियो तर निर्णय भएर आउँदा हटेर आएको थियो।
पछिल्लो जानकारी अनुसार यदि गोपाल र मिमांसलाई अर्थ नै सरुवा गरेको अवस्थामा चार जना सहसचिव अर्थबाट बाहिरिने चर्चा छ।दीर्घ मैनाली, डिलाराम पन्थी, सेवन्तक पोखरेल र टोकराज पाण्डे अर्थबाट बाहिरिन सक्ने सम्भावना उच्च रहेको अर्थ स्रोत बताउँछ।
आन्तरिक राजश्व विभागका महानिर्देशकमा मन्त्रालयका सहसचिव भूपाल बराललाई पठाएसँगै त्यहाँका दिर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयतिर पठाइएको थियो। त्यसैगरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा। टोकराज पाण्डेलाई अर्थ मन्त्रालय बोलाउँदै त्यहाँ भन्सार विभागका उपमहा निर्देशक पोखरेललाई सरुवा गरिएको थियो तर पोखरेल विमानस्थल जान मानिरहेका छैनन् भने सरुवा भएको तीन साता हुँदासम्म पाण्डेलाई पनि मन्त्रालयमा हाजिर गराइएको छैन। त्यस्तै वीरगन्ज भन्सार कार्यालयका हाकिम डिलाराम पन्थी पनि बाहिरिन सक्ने सम्भावना रहेको स्रोतको भनाई छ।