७ महिनामा १२९ देशसँग नेपालको व्यापार घाटा - Chaitanya News
  • 2026-06-01
  • 12:34:08
  • सोमबार,जेठ १८, २०८३
  • ७ महिनामा १२९ देशसँग नेपालको व्यापार घाटा

    ७ महिनामा १२९ देशसँग नेपालको व्यापार घाटा

    काठमाडौँ– नेपालले १२९ देशसँग घाटाको व्यापार गरेको छ। चालु आर्थिक वर्षको ७ महिनामा कूल १५७ देशसँग वैदेशिक व्यापार गरेको नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ घाटा व्यहोरेको हो।

    समीक्षा अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले सोही अवधिमा जम्मा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको हो।

    यद्यपि, अघिल्लो वर्षको तुलनामा आयात र निर्यात दुबै घट्दा यता घाटा समेत केहीँ घट्न पुगेको भन्सार विभागले जनाएको छ। अघिल्लो वर्ष यसै ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेर ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले ८ खर्ब २५ अर्ब ९३ करोड रुपैयाँ घाटा व्यहोरेको थियो। तुलनात्मक रुपमा यो वर्ष नेपालको व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ।

    भारत–चीनसँग मात्र ६ खर्ब ६७ अर्ब व्यापार घाटा
    आयात निर्यातको हिसाबले पहिलो र दोस्रो मुलुक भारत र चीनसँग मात्र नेपालको व्यापारघाटा ८२ प्रतिशत माथि छ। चालु आर्थिक वर्षको ७ महिनामा यी दुई देशबिच नेपालले कूल ७ खर्ब ८८ अर्ब ४२ करोड ७५ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार गर्दा ६ खर्ब ६७ अर्ब २७ करोड २४ लाख ४३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ।

    समीक्षा अवधिमा नेपालले भारतसँग ५ खर्ब ५४ अर्ब ७५ करोड ८८ लाख ४१ हजार रुपैयाँको वस्तु आयात गर्दै उता ५८ अर्ब ७२ करोड २७ लाख ५१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ भने अर्को छिमेकी मुलुक चीनतर्फ १ खर्ब ७३ अर्ब ९ करोड ११ लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दै जम्मा १ अर्ब ८५ करोड ४८ लाख ४ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ।

    आयात र निर्यातको स्थिति हेर्दा समीक्षा अवधिमा नेपालले भारततर्फ ४ खर्ब ९६ अर्ब ३ करोड र चीनतर्फ १ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँ घाटा व्यहोरेको छ। बाँकी १५५ देशहरुसँगको व्यापारमा नेपालले १ खर्ब ४३ अर्ब ८४ करोड रुपैयाँ बराबरको घाटाको व्यापार गरेको छ।