काठमाडौँ– सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका निम्ति सम्बन्धित समितिमा पठाइएको छ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको सो विधेयकलाई दफावार छलफलका निम्ति विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको हो।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराइएको थियो।
यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९–८० सभामा पेस गरेका थिए ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभासमक्ष पेस गरिन्।
विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायनसम्बन्धी विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गरिन्।
राष्ट्रिय सभाको अर्को बैठक यही फागुन ११ गते दिउँसो १ बजे बस्नेछ। रासस