एक वर्ष अघिको ठूलो आर्थिक संकटबाट मुलुक बाहिर आएको प्रधानमन्त्रीको दाबी - Chaitanya News
  • 2026-06-01
  • 12:33:43
  • सोमबार,जेठ १८, २०८३
  • एक वर्ष अघिको ठूलो आर्थिक संकटबाट मुलुक बाहिर आएको प्रधानमन्त्रीको दाबी

    एक वर्ष अघिको ठूलो आर्थिक संकटबाट मुलुक बाहिर आएको प्रधानमन्त्रीको दाबी

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्ष अघिको ठूलो आर्थिक संकटबाट मुलुक बाहिर आएको दाबी गरेका छन्।

    आज (आइतबार) संसद्को प्रश्नोत्तरमा उनले यस्तो दाबी गरेका हुन्। यस्तै उनले मुलुक आर्थिक संकटमा भएको चिन्ताबाट बाहिर आए पनि उत्पादन रोजगारी र सरकारको खर्चबाट अर्थतन्त्रलाई पुनः लयमा फर्काउनेतर्फ चुनौती कायम रहेको समेत बताए।

    उनले अब सरकारको सम्पूर्ण ध्यान यसैतर्फ केन्द्रित रहेको बताए। ‘अहिले अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक छन्। तर, ती सकारात्मक रहँदा रहँदै अर्थतन्त्रको समग्र क्षेत्र समस्यामुक्त भएको छैन,’ उनले भने, ‘अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसकेको छैन भन्ने मूल्यांकन गरेको छौँ। एक वर्ष अगाडि शोधनान्तर घाटा उच्च बिन्दुमा पुगेको थियो। विदेशी मुद्रा सञ्चिति न्यूनतम बिन्दुमा घटेको थियो। बैंकिङ क्षेत्रमा तरलताको अभाव थियो। ब्याजदर धान्न नसक्ने तहमा पुगेको र मूल्यवृद्धि पनि उच्च थियो।

    गत आर्थिक वर्ष २०७९–८० को सोही अवधिमा मूल्यवृद्धि र ब्याजदरको दबाब भए पनि प्रधानमन्त्री दाहालले भनेजस्तो शोधनान्तर घाटा नभई बचतमा थियो भने विदेशी विनियम सञ्चिति पनि सुधारोन्मुख अवस्थामा गइसकेको थियो।

    अघिल्लो आव २०७८–७९ मा शोधनान्तर घाटा बढ्दो विदेशी विनिमय सञ्चिततिमा दबाब भए पनि गत आवमा भने त्यस्तो अवस्था थिएन।

    दाहालले यसबीच हरेक मन्त्रालयसँग सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र त्यसको प्रभावकारिताका लागि दिनहुँजसो समाधानमुखी छलफल गरिरहेको दाबी गरे।

    उनले मन्त्रालयसँग सम्बन्धित भएर मात्रै नभई राजनीतिक दल र नेता, निजी क्षेत्रका प्रतिनिधि तथा विज्ञहरू सँगै राखेर नेपालको अर्थतन्त्र सुधार गर्न के गर्न सकिन्छ भनेर पटक(पटक छलफल गरेको बताए।

    यस्ता छलफलले महत्त्वपूर्ण निष्कर्ष दिएको र त्यसलाई सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको उनले बताए। ‘छलफलका निष्कर्ष र कार्यान्वयनका लागि दिएको निर्देशनले केही सकारात्मक लय समातेको छ। यसको सकारात्मक प्रभाव अंकमा नै संसदमा सुनाउन सक्छु भन्ने आत्मविश्वास बढेको छ,’ उनले भने।