विश्वकप लिग–२: नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो - Chaitanya News
  • 2026-06-01
  • 12:33:03
  • सोमबार,जेठ १८, २०८३
  • विश्वकप लिग–२: नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

    विश्वकप लिग–२: नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

    काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको छ।

    नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेख र अनिल शाहले अर्धशतक बनाए। आसिफ ५४ र अनिल ५७ रनमा नट आउट रहे। यस्तै कुशल भुर्तेल २८ रन बनाएर आउट भए। नेदरल्यान्ड्सका भिभान किङ्माले १ विकेट लिए।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायो। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए। यस्तै बास दी लिडेले २७, सायब्रान्ड एङ्गलब्रेचले २३ रन बनाए। नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले समान १ विकेट लिए।

    अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो।

    आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन्। पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।