विश्वकप लिग–२: नामिबियासँग नेपाल ४ विकेटले पराजित - Chaitanya News
  • 2026-06-01
  • 12:34:08
  • सोमबार,जेठ १८, २०८३
  • विश्वकप लिग–२: नामिबियासँग नेपाल ४ विकेटले पराजित

    विश्वकप लिग–२: नामिबियासँग नेपाल ४ विकेटले पराजित

    काठमाडौँ– विश्वकप लिग–२ अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ।

    आज (बिहीबार) भएको खेलमा नेपालले दिएको १ सय ३३ रनको कमजोर लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३।१ ओभरमा पूरा गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो।

    नामिबियाको जितमा निकोल लोफ्टाइ(एटोनले ३१ रनको इनिङ्स खेलेका थिए। त्यस्तै, जेजे स्मिथ १७ रनमा अविजित रहे। स्मिथ र निकोलबीच छैटौं विकेटका लागि ४२ रनको साझेदारी भएको थियो। जुन साझेदारी नै नेपाललाई हराउन पर्याप्त बन्यो।

    उसका लागि थप स्कोरका रुपमा ओपनर माइकल भान लिङ्गेनले २३ रन बनाउँदा जन फ्राइलिन्कले ३४ रन बनाए। त्यस्तै, निकोलस डाभिनले १५ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट हात पारेका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन बनाएको थियो। नेपालका लागि भीम सार्कीले ४४ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनीबाहेक थप दोहोरो स्कोरका रुपमा गुल्सन झाले २१ रन बनाउँदा कुशल मल्लले १५ रन बनाए। त्यस्तै, पवन सर्राफ १२ रनमा पेभिलियन फर्किँदा करण केसीले १६ रन बनाएर आउट भए।

    नेपालका ६ ब्याटर दोहोरो स्कोरमा रन बनाउन असफल रहे। २१ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि पाँचौं विकेटका रुपमा कुशल भुर्तेल र भीम सार्कीले ४६ रनको साझेदारी गर्दै टोलीलाई केही सम्हाले पनि कमजोर स्कोरको योगफलबाट नेपाललाई माथि उठाउन भने सकेनन्।

    नेपालले ओपनर कुशल भुर्तेललाई शून्य रनमा आउट हुँदा, आसिफ शेख ४ रन, अनिल साहा ८ रन र कप्तान पौडेल १ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै, सोमपाल कामी २ रनमा आउट भए। नामिबियाका लागि जेर्हार्ड एरासमसले ५ विकेट लिँदा रुवेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले समान २–२ विकेट लिएका थिए।