७ महिनामा सरकार झन्डै एक खर्ब घाटामा,कति उठ्यो राजस्व? - Chaitanya News
  • 2026-06-01
  • 12:33:52
  • सोमबार,जेठ १८, २०८३
  • ७ महिनामा सरकार झन्डै एक खर्ब घाटामा,कति उठ्यो राजस्व?

    ७ महिनामा सरकार झन्डै एक खर्ब घाटामा,कति उठ्यो राजस्व?

    काठमाडौँ– चालु आर्थिक वर्षको ७ महिनामा सरकार बजेट कार्यान्वयनमा झन्डै एक खर्ब घाटमा देखिएको छ। साउनदेखि माघ मसान्तसम्म सरकारले ६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको बजेट खर्च गर्दै गर्दा यता राजस्वतर्फ जम्मा ५ खर्ब ९७ अर्ब २४ करोड रुपैयाँ मात्र उठेको छ।

    समीक्षा अवधिमा आय व्ययको सरकारी खाता ९९ अर्ब ७८ करोड रुपैयाँले घाटामा गएको हो। उसो त लक्षित राजस्वको लक्ष्य भेट्न नदेखेपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेट संशोधन गरिसकेको छ। मङ्गलवार बजेटको अर्धवार्षिक समीक्षा गरेको सरकारले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको छ।

    चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। ७ महिनामा विनियोजित बजेटको जम्मा ३९.८ प्रतिशत अर्थात् ६ खर्ब ९७ अर्ब २ करोड ४९ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ। यसमा पनि विकास खर्चतर्फ छुट्याइएको पुँजीगत खर्चको स्थिति नाजुक रहेको छ।

    आर्थिक वर्षका लागि जम्मा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएकोमा हालसम्म जम्मा ६४ अर्ब ४४ करोड २२ लाख (विनियोजित बजेटको २१.३३ प्रतिशत) मात्र खर्च हुन सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। संशोधित बजेटमार्फत पुँजीगत खर्च १५.७६ प्रतिशतले कटौतीमा परेको छ।