स्रोत पर्याप्त नहुँदा सबै वर्ग, समुदाय र क्षेत्रको आवश्यकता सम्बोधन गर्न सरकारलाई कठिनाइ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-06-03
  • 19:34:33
  • बुधबार,जेठ २०, २०८३
  • स्रोत पर्याप्त नहुँदा सबै वर्ग, समुदाय र क्षेत्रको आवश्यकता सम्बोधन गर्न सरकारलाई कठिनाइ : अर्थमन्त्री महत

    स्रोत पर्याप्त नहुँदा सबै वर्ग, समुदाय र क्षेत्रको आवश्यकता सम्बोधन गर्न सरकारलाई कठिनाइ : अर्थमन्त्री महत

    काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत पर्याप्त नहुँदा सबै वर्ग, समुदाय र क्षेत्रको आवश्यकता र मागहरू सम्बोधन गर्न सरकारलाई कठिनाइ भइरहेको बताएका छन्।

    आज (मंगलबार) १३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।यस्तै उनले बिस्तारै अर्थतन्त्र एउटा सकारात्मक दिशातर्फ उन्मुख हुँदै गए पनि सीमित स्रोतका कारण राज्यलाई आवश्यकता र मागहरू सम्बोधन गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे।

    उनले भने, ‘बिस्तारै अब अर्थतन्त्र एउटा सकारात्मक दिशातर्फ उन्मुख हुँदै गएको छ। बोलेको जस्तो काम गर्न सजिलो छैन। आर्थिक रूपान्तरण परिवर्तन ल्याउन आज घोषणा ग¥यो भोलि हुँदैन। त्यसको लागि अत्यन्त मिहिनेत गर्नुपर्छ। राजस्व बढेको छ। पर्यटन व्यवसाय विस्तार भएको छ। सेयर मार्केट तीन सय अंकले बढेको छ। तर स्रोतहरू त्यहीअनुसार नहुँदा सबै वर्ग समुदाय र क्षेत्रको आवश्यकता र मागहरू सम्बोधन गर्न अझै कठिनाइहरू छन्।’

    मन्त्री महतले राजस्वका दरहरू फराकिलो बनाएर लैजानुका साथै दायरा बढाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी अगाडि बढिरहेको बताए।

    उनले भने, ‘हामीले राजस्वका दरहरू फराकिलो बनाएर लाने, दायरा बढाउने र बोझ कम गरी आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरि अगाडि बढिरहेको छौँ। ’पछिल्लो समय सूचना क्रान्तिमा आएको विविधता छनोट एउटै नहुँदा प्रतिस्पर्धा बढेको उनको भनाइ छ।