सात महिनामा साधारण खर्च ५ खर्ब नाघ्यो, विकास खर्च ६३ अर्बमात्र - Chaitanya News
  • 2026-06-01
  • 11:45:42
  • सोमबार,जेठ १८, २०८३
  • सात महिनामा साधारण खर्च ५ खर्ब नाघ्यो, विकास खर्च ६३ अर्बमात्र

    सात महिनामा साधारण खर्च ५ खर्ब नाघ्यो, विकास खर्च ६३ अर्बमात्र

    काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८०–८१ को सात महिनामा साधारण खर्च ५ खर्ब नाघेको छ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार माघ मसान्तसम्म ५ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ साधारण खर्च भएको छ। यो यस वर्ष सरकारले गरेको विनियोजनको ४४.५८ प्रतिशत हो। यो वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ। यसमध्ये साधारण खर्चको लक्ष्य ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ छ।

    सोमबार मात्र बजेटको अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यो लक्ष्य पूरा नहुने स्वीकार गरिसकेका छन्। सोही कारण उनले बजेटको आकार नै १५ खर्बमा झारेका छन्।

    उता, पूँजीगत खर्च भने अहिले पनि दयनीय अवस्थामा छ। विकास आयोजनामा नीतिगत तथा कानुनी अडचन कारण पूँजीगत खर्चले गति लिन नसकेको र अब त्यसमा सुधार गरिएका कारण गति लिने अर्थमन्त्री डा. महतको तर्क छ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघ मसान्तसम्म ६३ अर्ब ५७ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ। यो लक्ष्यको २१.०५ प्रतिशत मात्र हो। यस वर्ष सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको छ।

    यो लक्ष्य एक वर्षमा पूरा नहुने देखिएपछि अर्थ मन्त्रालयले पूँजीगत खर्चको लक्ष्यसमेत २ खर्ब ५४ अर्बमा झारेको छ। वित्तीय व्यवस्थातर्फ माघ मसान्तसम्म १ खर्ब १४ अर्ब १३ करोड रुपैयाँ खर्च गरिसकेको छ। यो कुल विनियोजनको ३७.१२ प्रतिशत हो।

    यस वर्ष सरकारले ३ खर्ब ७ अर्ब रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गर्ने लक्ष्य राखेको छ। यसप्रकार सात महिनामा सरकारको कुल खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ भएको छ। यो लक्ष्यको ३९.२१ प्रतिशत हो।

    सात महिनामा साढे ५ खर्बमात्र उठ्यो राजस्व

    महालेखाको तथ्यांक अनुसार राजस्व संकलन समेत माघ मसान्तसम्म लक्ष्यको ३९.८९ प्रतिशत मात्र उठ्न सकेको छ। यस वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँमात्र संकलन गर्न सकेको छ।

    यस अवधिमा कर राजस्व ५ खर्ब १० करोड र गैरकर राजस्व ५६ अर्ब ९० करोड रुपैयाँ उठेको छ। अनुदान २ अर्ब ७५ करोड रुपैयाँमात्र आएको छ। अन्य आन्दानी २१ अर्ब ३९ करोड रुपैयाँ भएको देखिएको छ। यसरी सात महिनामा सरकारले कुल प्राप्ति ५ खर्ब ९१ अर्ब ५५ करोड रुपैयाँ देखिएको छ।

    आम्दानीभन्दा खर्च ९५ अर्ब १९ करोड धेरै

    यस वर्ष सात महिनामा सरकारको आम्दानी र खर्चबीच खाडल ९५ अर्ब १९ करोड रुपैयाँ बराबर देखिएको छ। जसको परिपूर्तिका लागि सरकारले ऋण लिनुपरेको छ।

    सरकारले सात महिनामा ६ खर्ब ८६ अर्ब रुपैयाँ खर्च गर्दा आम्दानी भने ५ खर्ब ९१ अर्ब रुपैयाँमात्र गर्न सकेको छ। यसबाट झन्डै १ खर्ब रुपैयाँको खाडल देखिन्छ।