अर्थ मन्त्रालयले बजेटको लक्ष्य घटायो - Chaitanya News
  • 2026-06-01
  • 11:46:12
  • सोमबार,जेठ १८, २०८३
  • अर्थ मन्त्रालयले बजेटको लक्ष्य घटायो

    अर्थ मन्त्रालयले बजेटको लक्ष्य घटायो

    काठमाडौँ– अर्थ मन्त्रालयले बजेटको लक्ष्य घटाएको छ। आज (सोमबार)चालु आर्थिक वर्ष (आव) २०८०–८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए।

    चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताए।

    जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ। चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए। वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ।

    स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने संशोधित अनुमान प्रस्तुत गरे।

    सरकारले लक्ष्यअनुसार नै आन्तरिक ऋण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा धरै कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान अर्थमन्त्री महतको देखिन्छ।

    यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान संशोधन गरिएको छ। अब ४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने उनले बताए। बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोडको अनुमान संशोधन गर्दै १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने संशोधित अनुमान उनको छ।