सरकारले आज बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने - Chaitanya News
  • 2026-06-01
  • 11:45:43
  • सोमबार,जेठ १८, २०८३
  • सरकारले आज बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने

    सरकारले आज बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने

    काठमाडौँ– सरकारले आज चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने भएको छ। अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट ९प्रतिवेदन० सार्वजनिक गर्ने गरी पत्रकार सम्मलेन राखेको छ।

    साउनदेखि पुस मसान्तसम्मको सरकारी आय व्ययको खाता ४८ अर्ब ४६ करोडले घाटामा देखिएको छ। २०८० पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको सरकारले खर्च (बजेट कार्यान्वयन) तर्फ ५ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

    तथापि, सरकारी खर्च र आम्दानी लक्ष्यअनुरुप हुन नसक्दा अर्धवार्षिक समीक्षामार्फत दुबै लक्ष्य परिमार्जन गर्ने तयारी सरकारले गरेको छ। चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड अनुमानित बजेट ल्याएको सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ। यो लक्ष्य पुरा हुन नसक्ने देखेपछि सरकारले राजस्वको र खर्चको दुबै लक्ष्य र सीमा पुनरावलोक गर्ने तयारी गरेको हो।

    मौद्रिक नीतिको समीक्षा पनि आजै
    यता अर्थ मन्त्रालयले समग्र अर्थतन्त्रको अर्धवार्षिक समीक्षाको तयारी गर्दै गर्दा उता राष्ट्र बैंकले समेत मौद्रिक नीतिको समीक्षाको तयारी गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकले सोमबार बेलुका सञ्चालक समितिको बैठक डाकेको छ।

    सञ्चालक समितिबाट प्रस्तावित अर्धवार्षिक समीक्षा पारित भए सम्भवत आज नै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा समेत सार्वजनिक हुने राष्ट्र बैंकले जानकारी दिएको छ।