काठमाडौं– बैंकहरूको निक्षेप संकलन एकदिनमै १६ अर्बले बढेको छ। बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक ३० गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। कार्तिक २९ गते, मंगलबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब ६८ अर्ब रूपैयाँ रहेको थियो। एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ अर्बले बढेको हो। यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर ४५ खर्ब ६१ अर्ब पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह एक अर्बले घटेर ४७ खर्ब ५८ अर्ब रूपैयाँमा झरेको छ। वाणिज्य बैंकहरूको कर्जा लगानी भने ४२ खर्ब १३ अर्ब रूपैयाँमा स्थिर रहेको छ।
बैंकहरूको औसत कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) ८७.०९ प्रतिशतबाट घटेर ८६.८५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।
![]()