काठमाडौं– गत साताको तुलनामा यो साता नेप्से परिसूचक ४३.१३ अंकले बढेको छ। गत साताको अन्तिम दिन बिहीबार १८९३.७१ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन १९३६.८४ विन्दुमा रोकिएको हो।
यो साता नेप्से परिसूचक बढे पनि करोबार रकममा भने कमी आएको छ। गत साताको पाँच कारोबार दिनमा सात अर्ब २३ करोड ७१ लाख रुपैयाँको एक करोड ८४ लाख ४३ हजार ७९८ कित्ता सेयर खरिद–बिक्री भएको थियो।
तर, यो साताको पाँच करोबार दिनमा एक करोड ४१ लाख पाँच हजार १५७ कित्ता सेयर पाँच अर्ब ३१ करोड ९४ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जानकारी दिएको छ। गत साताको तुलनामा यो साता एक अर्ब ९१ करोड ७६ लाख रुपैयाँ कमको सेयर खरिद–बिक्री भएको छ।
गत साताको चार कारोबार दिन नेप्से परिसूचक घटेको थियो भने सो साताको पहिलो कारोबार दिन आइतबार भने नेप्से ४३ अंक बढेको थियो। यो साताको पाँच कारोबार दिनमध्ये दुई करोबार दिन नेप्से परिसूचक घटेको छ। तीन कारोबार दिन नेप्से परिसूचक वृद्धि भएको छ।
गत साताको तुलनामा सेन्सेटिभ इन्डेक्स ८.६९ अंक बढेको छ। गत साता ३७२।३७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम दिन वृद्धि भएर ३८१.०६ विन्दु कायम भएको छ।
बजारमा तरलता सहज भएसँगै कारोबारीहरू बजारम चाल्मलाउन थालेको जानकार बताउँछन्। तर, गत साताको तुलनामा सेयर कित्ता भने घटेको छ। यो साता गत साताको तुलनामा ४३ लाख ३८ हजार ६४१ कित्ता कम सेयर खरिद–बिक्री भएको नेप्सेको तथ्यांकले देखाएको छ।
नेप्से इन्डेक्समा वृद्धि भएसँगै सर्वसाधारणको सम्पत्ति मूल्य (कुल बजार पुँजीकरण)मा पनि वृद्धि भएको छ। गत साताको अन्तिम दिन कुल बजार पूँजीकरण २७ खर्ब २३ अर्ब रुपैयाँ कायम भएकोमा उक्त रकम ६२ अर्ब १६ करोड रुपैयाँ बढेर यो साताको अन्तिम कारोबार दिनसम्म २७ खर्ब ८६ अर्ब दुई करोड रुपैयाँ कायम भएको नेप्सेको तथ्यांकले देखाएको छ।