काठमाडौं– आज (आइतबार)नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ। यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ।
माघ २३ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ। तर सो अवधिमा बैंकहरुले गरेको कर्जा लगानी भने ५० खर्ब ८६ अर्ब रुपैयाँ हाराहारी मात्र देखिन्छ।
अन्तर बैंक ब्याजदर ३.०९ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ४ प्रतिशत हाराहारीमा झरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा–निक्षेप अनुपात (सीडी रेसिया) ८०.२६ प्रतिशत मात्र कायम गरेका छन्। यसो हुँदा हाल बैंकहरुसँग ५ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ।