काठमाडौँ– कहिले कर्मचारी त कहिले नेता तथा कार्यकर्ता, आफ्ना अनि आफन्त व्यवस्थापनमा जहिल्यै गरमागरम माहौल रहने सिंहदरवारस्थित एक मन्त्रालयमा सदाचार र तनाव व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदैछ। कर्मचारीको अभिभावक मन्त्रालयको रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री सचिवकै समुपस्थितीमा सदाचार, तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको हो।
दुई बजे सबै कर्मचारी उपस्थितिका लागि उर्दी जारी गरेको मन्त्रालयले मन्त्रालयकै सभा हलमा सञ्चालन गर्न लागेको परामर्श कार्यक्रममा सहभागीहरू आउने क्रम जारी छ। जीवन विज्ञानका प्रमुख प्रशिक्षक एलपी भानु शर्माद्वारा सञ्चालन हुने भनिएको उक्त कार्यक्रम कर्मचारी कल्याण शाखाले आयोजना गरेको हो।
कतिपय कर्मचारीले यसलाई ठिकै पनि हो भनेका छन् कतिपयले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’को संज्ञा दिएका छन्।
पछिल्लो समय कर्मचारी व्यवस्थापनमा चर्को आलोचना खेप्दै आएको मन्त्रालयसँग सङ्घ मात्रै होइन, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूदेखि जनप्रतिनिहरुसम्मै रुष्ट बन्दै आएका छन्। कर्मचारीको व्यवस्थापन भन्दा आफ्नो व्यवस्थापनमा बढी केन्द्रित हुँदा बिकृतीहरुलाई बढावा दिएको उनीहरुको आरोप छ।
मन्त्रालयको मन्त्रीमा अनिता देवी साह छिन् भने सचिव रहेका छन् विनोद प्रकाश सिंह।