काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताएका छन्।
आज (शुक्रवार) नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपालले उदारताकासाथ श्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको समेत बताए।
उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको बताए। उनले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताए।
द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको बताए। नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतले बताए। संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेको भएपनि आन्तरिक श्रोत र साधनबाट उठेको राजश्वले राज्यका सबै दायित्वहरू धान्न कठिन हुँदै गएको बताए।
उनले भने, ‘नेपाल आर्मीको साइज डबलभन्दा ठूलो भयो, सशस्त्र प्रहरी छुट्टै गठन भयो। ब्युरोकेसी पनि ठूलै छ। त्यसमाथि यो संघीय संरचनामा गइसकेपछि त्यहाँ पनि त्यही किसिमको दायित्वहरू थपिनु स्वभाविक भइहाल्यो। यसले गर्दा हाम्रो फिक्स दायित्व अत्यन्त धेरै बढ्यो। त्यसले गर्दा हाम्रो आन्तरिक श्रोत र साधन जुन हाम्रो राजश्वबाट जे प्राप्ति हुन्छ, त्यसले यी सबै दायित्वहरूलाई सम्बोधन गर्न कठिन हुँदै गएको छ।