काठमाडौँ– उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा लागू औषधको समस्या बढेको भन्दै त्यसको नियन्त्रणमा अलर्ट भएर काम गर्न निर्देशन दिएका छन्।
उनले लागू औषध नियन्त्रण र कारबाहीलाई कडा गर्न र त्यसविरुद्ध युवाहरुबीच सचेतना कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिए ।आज (बिहीबार) महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि गृहमन्त्री श्रेष्ठले हरेक जिल्लामा सुधार केन्द्रहरू बनाउन समेत निर्देशन दिए ।
उनले त्यस्ता योजनाहरुमा प्रदेश सरकार र स्थानीय तहहरूसँग समेत समन्वय गरेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। त्यस क्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको समेत उनले जानकारी गराए। धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाटै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन थियो।
मन्त्री श्रेष्ठले मधेशका अन्य समस्याहरु जस्तै सीमामा राजस्व चुहावट, क्रस बोर्डर क्राइमजस्ता विषयमा समेत संवेदनशील भएर काम गर्न निर्देशन दिए। मन्त्री श्रेष्ठलाई महोत्तरी र धनुषाका सिडिओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए।