विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-06-03
  • 18:37:14
  • बुधबार,जेठ २०, २०८३
  • विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ : अर्थमन्त्री महत

    विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ : अर्थमन्त्री महत

    काठमाडौँ– अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्ने बताएका छन। आज (मंगलबार) अर्थ मन्त्रालयमा बसेको निर्देशन समितिको तेस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले वैशाखमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने समेत बताए।

    यसका लागि सरकारका सबै निकाय गम्भीर बनेर लाग्नुपर्ने अर्थमन्त्री डा।महतले बताए। ‘कर्मकाण्डीरुपमा लागेर मात्रै हुँदैन। सबै निकाय गम्भीर बन्नुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘र सबै तह, निर्देशन समिति, कार्यान्वयन समिति लगायतले गम्भीरताका साथ काम गर्न जरुरी छ।’

    अर्थमन्त्रीका अनुसार यतिबेला अन्तर्राष्ट्रिय समुदाय समेत नेपालमा लगानी गर्नका लागि जिज्ञासु र सोधिखोजी गरिरहेका छन्। अर्थ मन्त्रालय विदेशी लगानीकर्ताको सम्पर्कमा जाँदा उदासीन देखिने गरेको सम्झिँदै उनले अहिले त्यो अवस्था फेरिएको बताए।

    यसबाहेक, विश्व बैङ्कको सहुलियत दरमा ऋण दिने सम्बन्धी सम्मेलन आगामी जुनमा हुँदैछ। यो सम्मेलन नेपालमा गर्नका लागि समेत अर्थ मन्त्रालय लागि परेको छ। अर्थ मन्त्रालयको निरन्तर पहलका बाबजुद विश्व बैंक यो सम्मेलन नेपालमा नै गर्न सहमत भएको अर्थमन्त्री महतले बताए।

    उनका अनुसार यो अहिलेसम्म नेपालमा सम्पन्न सबै प्रकारका सम्मेलनभन्दा विशेष हुनेछ। यो सम्मेलनमा विश्वभरका ९२ भन्दा धेरै देशका प्रतिनिधि सहभागिता बन्नेछन्। विश्व बैंकका अध्यक्ष र विभिन्न देशका सरकार प्रमुख र अर्थमन्त्रीहरूको सहभागिता समेत रहनेछ।

    सोहीकारण, वैशाख १६ र १७ सम्म चल्ने सम्मेलनलाई सफल बनाउँदै विदेशी लगानी भित्र्याउनका लागि नेपालले छाती फराकिलो पार्नुपर्ने डा।महतले बताए। ‘विदेशी लगानी आयो भने सबैलाई फाइदा हुन्छ,’ उनले भने, ‘लगानी नै आएन भने राज्यलाई र रोजगारीको खोजीमा रहेकालाई पनि फाइदा हुँदैन।

    विदेशी लगानी भित्र्याउनका लागि सबै निकायले छाती फराकिलो पार्दै कर, ऐन, नियम तथा कानुन र विभिन्न व्यवस्था छलफल र संशोधन गर्नुपर्ने उनको भनाई छ। विदेशी लगानी ल्याउन संयुक्त अरब इमिरेट्स (यूएई) ले विदेशी लगानी ल्याउनका लागि सुरुवातमा कर छुटको प्रावधान लिएको समेत अर्थमन्त्रीले स्मरण गरे।

    ‘सुरुमा यूएई सरकारले कर छुटको प्रावधान लियो र विश्वभरबाट लगानीकर्ता खनिए,’ उनले भने, ‘अब यस्तो इकोसिस्टम बनिसक्यो। युएईले कर लगाउँदा र बढाउँदा पनि लगानीकर्ता छाडेर जाँदैनन्।’ नेपालमा समेत सोही प्रकारको माहौल बनाउन सक्नुपर्ने र त्यसलाई अवसरका रूपमा लिन सक्नुपर्ने अर्थमन्त्रीले बताए।

    यसबाहेक विदेशी लगानीकर्तालाई मात्रै प्राथमिकतामा राखेर स्वदेशी लगानीकर्तालाई छायाँमा पार्ने मनस्थितमा सरकार नरहेको उनले प्रस्ट पारे। यसका लागि मौजुदा नीतिगत कानुनी अवस्था सुधार गर्नका लागि सबै निकाय एकजुट बनेर लाग्नुपर्ने भन्दै यसकालागि अर्थमन्त्री डा।महतले यसका लागि सबैलाई आह्वान समेत गरे।