काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताएका छन्। आज (बुधबार) इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान( को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी समेत गरे।
उनले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको पनि बताए।
पहिलेदेखि बानी परेको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै समय लाग्छ। तर कम्तिमा श्रीलङ्का बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ,’ उनले भने, ‘समग्रमा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको कुरा तथ्याङ्कले नै देखाइरहेको छ।
अर्थमन्त्री महतले डबल हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए। परिस्थितिको राम्रो आङ्कलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो।
‘ऋण लिने र दिने दुवैले स्थितिको मूल्याङ्कन गर्न नसकेको अवस्था देखिएको छ, त्यसैले ऋणीलाई मात्रै होइन, बैङ्कहरूलाई पनि कडाइ गर्नुपर्ने अवस्थाबारे राष्ट्र बैंकसँग समन्वय भएको छ,’ उनले भने।
उनले अहिले ऋण लिएको रकम माफी मिनाहा गर्न सक्ने गरी सरकारको अवस्था नरहेको बताए। ‘ऋण लिएपछि जसरी पनि तिर्नु नै पर्छ। खाएपछि तिर्नै पर्छ। यस्तो भ्रममा नपर्नुहोला,’ उनले भने, ‘कसै–कसैले तपाईँलाई ठग्न पनि सक्छन्। अहिले ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु । तर त्यो सम्भावना छैन।