काठमाडौँ– चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएको छ। विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। जसअनुसार सो अवधिमा रेमिट्यान्स रु.७३३ अर्ब २२ करोड पुगेको बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा उल्लेख छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४।३ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको पनि बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु.७९९ अर्ब ५१ करोड पुगेको छ। यसैबीच समीक्षा अवधिमा चालु खाता रु.१६१ अर्ब ६२ करोडले बचतमा रहेको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई रु.३ अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ५३ करोडले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ७४ करोड ९४ लाखले धनात्मक रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९२ अर्ब १५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको बैंकले जनाएको छ।