घोराही–खुंग्री १ सय ३२ केभी प्रसारण लाइनका कर्मचारीसँग सिञ्चाईमन्त्री पुनले लिए जानकारी - Chaitanya News
  • 2026-06-01
  • 10:45:19
  • सोमबार,जेठ १८, २०८३
  • घोराही–खुंग्री १ सय ३२ केभी प्रसारण लाइनका कर्मचारीसँग सिञ्चाईमन्त्री पुनले लिए जानकारी

    घोराही–खुंग्री १ सय ३२ केभी प्रसारण लाइनका कर्मचारीसँग सिञ्चाईमन्त्री पुनले लिए जानकारी

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्तले निर्माणाधीन घोराही–खुंग्री १ सय ३२ केभी प्रसारण लाइनको निरीक्षण गरेका छन्।

    आज (आइतबार) रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका पुनले खुंग्रीस्थित आयोजना स्थल पुगेर आयोजनाका कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिएका हुन्।

    आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे।

    आयोजनाका कर्मचारी तथा निर्माण पक्षका प्रतिनिधिसँग पुनले जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र पूर्वविभागीय मन्त्रीका हैसियतले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग तथा सहरीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए।

    रोल्पा, रुकुम र प्युठान हालसम्म पनि केन्द्रीय प्रसारण लाइनमा नजोडिएका कारण उक्त आयोजनाबाट ती तीन जिल्लाले लाभ लिने उनको भनाइ थियो।

    प्रसारण लाइन निर्माणपछि सो क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लान राष्ट्रिय प्रसारणमा जोडिने र राष्ट्रिय प्रसारणको बिजुली ती जिल्लामा ल्याउन सकिने भएका कारण आयोजना महत्त्वपूर्ण रहेको पुनले बताए। हाल घोराही(खुंग्री १ सय ३२ केभीको प्रसारण लाइन निर्माणको काम धमाधम भइरहेको छ।