पर्यटन बोर्डको रिक्त तीन पदमा व्यवसायीहरूको प्रतिस्पर्धा - Chaitanya News
  • 2026-06-01
  • 10:45:17
  • सोमबार,जेठ १८, २०८३
  • पर्यटन बोर्डको रिक्त तीन पदमा व्यवसायीहरूको प्रतिस्पर्धा

    पर्यटन बोर्डको रिक्त तीन पदमा व्यवसायीहरूको प्रतिस्पर्धा

    पर्यटन बोर्डको रिक्त तीन पदमा व्यवसायीहरूको प्रतिस्पर्धा

    काठमाडौँ– नेपाल टुरिजम बोर्ड (एनटीबी) मा राजनीतिक नियुक्ति लिन पर्यटन व्यवसायीहरूको प्रतिस्पर्धा चलीरहेको छ। माघ २२ गतेदेखि रिक्त हुने तीन पद (बोर्ड सदस्य) का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको हो।

    २०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पुरा गर्दै उपाध्यक्ष चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिँदै छन्। सोही तीन पदका लागि हाल बोर्डमा नियुक्ति लिन व्यवसायीहरूको तीव्र दौडधुप चलिरहेको हो।

    निजी क्षेत्रका पर्यटन व्यवसायीहरू यतिखेर राजनीतिक शक्ति केन्द्र, पार्टी र तिनका नेताहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्रीसम्म नियुक्तिको सिफारिस बोकेर पुगिरहेका छन्।

    नेपाल पर्यटन बोर्ड नेपालको पहिलो पब्लिक–प्राइभेट सेक्टर पार्टनरशीप (पीपीपी) मोडको नमुना संस्था हो। सोही बोर्ड सदस्य नियुक्तिमा हुन सक्ने सम्भावित चलखेललाई मध्यनजर गर्दै सरकारले यसपटक मन्त्रिपरिषद्बाट बोर्ड सदस्य छनोट गर्ने तयारीका साथ सिफारिस समिति गठन गरेको छ।

    तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव गोविन्द कार्कीको संयोजकत्वमा निजी क्षेत्रका दुई जना प्रतिनिधिसहित तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ।

    उक्त समितिले आवेदन परेका व्यवसायीहरूबाट सम्भावित ५ जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनेछ। सोही ५ जनाबाट मन्त्री परिषद्ले तीन जनालाई बोर्ड सञ्चालक समिति सदस्यको रूपमा नियुक्त गर्नेछ।

    हालसम्म बोर्ड सदस्यका लागि १९ जना आकाङ्क्षीको दरखास्त परेको छनोट समितिका संयोजक कार्कीले  बताए। तर ती १९ जना आकाङ्क्षी कोको हुन्? भन्ने प्रश्नमा उनले कसैको नाम पनि खुलाउन चाहेनन्। गोप्य आवेदनका कारण कुनै पनि आवेदकहरूको विवरण सार्वजनिक गर्न नमिल्ने उनले भनाइ छ।

    तर, १९ जना आवेदकहरूमध्ये केही चर्चित अनुहार भएको र तिनले राजनीतिक भागबन्डाका आधारमा बोर्ड सदस्यको नियुक्ति लिन निकै दौडधुप गरिरहेको स्रोतले बतायो।

    खासगरी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र केही साना दलका प्रतिनिधिहरूले समेत बोर्ड सदस्यका लागि शक्ति केन्द्र रिझाउन लागि परेका छन्। अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूले समेत बोर्ड सदस्यका लागि लबिङ गरिरहेका छन्।

    ‘राजनीतिक भागबन्डाका आधारमा धेरैको आकाङ्क्षा देखिएको छ। तर सम्भावित अनुहार मध्ये व्यवसायीहरू कमल सापकोटा, नरेन्द्र भट्ट, सिर्जना राणा, देवीकृष्ण रोयकाय, देवराज जैशी, नवराज दाहाल, अभिषेक शाह, ऋषि भण्डारी, मोहन लम्साल, खुम सुवेदी लगायतको उम्मेदवारी छ। यी मध्ये पनि सापकोटा, भट्टराई, राणा, जैशी र शाहको अन्तिम पाँचमा पर्ने उच्च सम्भावना छ’ स्रोतले भन्यो।

    खासगरी तीन जना बोर्ड सदस्यका लागि मुख्य सत्ता साझेदार दल माओवादी केन्द्र र कांग्रेस निकट व्यवसायीहरूबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएकाले उनीहरूबाट आएका व्यवसायीहरू नै बोर्ड सदस्यमा नियुक्त हुने सम्भावना बलियो रहेको स्रोतको भनाइ छ।

    कांग्रेस कोटाबाट राणा पनि प्रतिस्पर्धामा
    नेपाल होटल संघ (हान) का निवर्तमान अध्यक्ष सिर्जना राणा पनि पर्यटन बोर्ड सदस्यमा आकाङ्क्षी देखिएकी छिन्। राणाले कांग्रेस कोटाबाट बोर्ड सदस्य खान लागि परेको स्रोतको दाबी छ।

    यस्तै, कांग्रेस कोटाबाटै शेरबहादुर देउवा निकट मानिने व्यवसायी नरेन्द्र भट्टको समेत उत्तिकै सम्भावना भएको स्रोतको भनाइ छ। राणा र भट्टराई दुवै जना कांग्रेसबाट भएको हुँदा एक जना बाहिरिने र एक जना बोर्डमा भित्रिने सम्भावना रहेको स्रोतको दाबी छ।

    यसैगरी नेकपा माओवादी केन्द्रबाट धादिङबाट कमल सापकोटा, पश्चिम कर्णाली र सुदुर पश्चिमबाट प्रतिनिधित्व गर्दै व्यवसायी देवीकृष्ण रोकाय र देवराज जैशीले बोर्ड सदस्यका लागि दौडधुप गरिरहेका छन्।

    माओवादी कोटाबाट सापकोटाको उच्च सम्भावना भएपनि जैशी र रोकायमध्ये एक जना बोर्ड सदस्यमा आउन सक्ने उच्च सम्भावना रहेको स्रोतको दाबी छ।

    आकाङ्क्षी सापकोटा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को यसअघिको निर्वाचनमा अध्यक्षमा हारेका व्यवसायी हुन् भने जैशी र्‍याफ्टिङ व्यवसायबाट र रोकाय हिमाली पर्यटन, होटल तथा ट्राभल एजेन्सी व्यवसायबाट हुन्।

    यसैगरी टानका पूर्वअध्यक्ष नवराज दाहाल र निवर्तमान अध्यक्ष खुम सुवेदीले समेत बोर्ड सदस्यका लागि तीव्र आकाङ्क्षा देखाएका छन्। सुवेदी नेकपा एमालेको कोटाबाट नियुक्ति लिन लागि परेका छन्।

    यसैगरी चन्द्रागिरि रिसोर्टका व्यवस्थापक अभिषेक शाहको समेत बोर्ड सदस्यका लागि इच्छा देखाएका छन्।

    बोर्डको मर्मलाई कसैले बुझ्न सकेनस् उपाध्यक्ष रिजाल
    आफ्नो तीन वर्षे कार्यकाल पुरा गर्दै माघ २२ गतेदेखि बिदा हुँदै गरेका बोर्ड सदस्य एवम् उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन बोर्डको मर्मलाई कसैले बुझ्न नसकेको गुनासो गरेका छन्। राजनीतिक भागबन्डा, नियुक्ति र स्वार्थका कारण मुलुककै एकमात्र सफल मानिएको निजी–सार्वजनिक साझेदारीको नमुना संस्था, पर्यटन बोर्डले सफलता हासिल गर्न नसकेको उनको भनाइ छ।

    ‘पर्यटन बोर्डले धेरै राम्रा कामहरू गर्न सक्थ्यो । तर, केही स्वार्थ समूहका कारण त्यो सम्भव भएन। समाज नकारात्मक दिशामा गइरहेकोले नबोल्ने कि भन्ने लाग्छ तर बोल्नु त पर्‍यो। मुलुकको राजनीतिक गति जस्तो छ ठ्याक्कै यसको प्रतिविम्ब पर्यटन बोर्डमा पनि देखिएको छ,’ रिजालले भने।

    आफ्नो तीन वर्षे कार्यकालमा उपाध्यक्ष पदलाई स्थापित गराउन सफल भएको उनको दाबी छ। ‘पर्यटन बोर्ड भनेको निजी क्षेत्रको प्रतिनिधित्व गर्ने र आफ्नै लागि ऐन, कानुन बनाउने र कार्यान्वयन गर्ने निकाय हो। यति मात्र होइन निजी क्षेत्रको पहलमा पर्यटन क्षेत्रको विकासमा ठुलो काम गर्ने निकाय पनि हो। जुन व्यवस्था पर्यटन बोर्ड ऐन, २०५३ ले गरेको छ’ रिजालले भने, ‘यसको जिम्मेवारी कसको हो भने बोर्डको उपाध्यक्षको हो। जुन पदीय जिम्मेवारी मैले आफ्नो कार्यकालमा राम्रोसँग निर्वाह गरे भन्ने लाग्छ। यद्यपि, जति गर्न सकिने थियो, गर्नुपर्ने थियो सो भने केही बोर्ड भित्रैबाट र मन्त्रालय, राजनीतिक निकायबाट असहयोगका कारण गर्न सकिएन। यसका लागि बोर्डमा सक्षम नेतृत्वको खाँचो छ’ उनले बताए।

    निजी क्षेत्रबाट ५ जना र सरकारी निकायबाट ५ जना गरी १० जना बोर्ड सदस्य रहनेमा निजी क्षेत्रबाटै जाने एक जना सीईओले निजी क्षेत्रकै प्रतिनिधित्व गरेर व्यवसायीहरूको पक्षमा काम गर्नुपर्ने उनको भनाइ छ।

    आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर डा।धनञ्जय रेग्मी बाहिरिएसँगै हाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा छ। बोर्डको सीईओ पदका लागि पनि झण्डै आधा दर्जन व्यवसायीहरूको आकाङ्क्षा देखिएको बुझिएको छ।