काठमाडौँ – सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ। निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ।
४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो।
उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ। मदिरा व्यवसायीलाई पनि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण नगर्न अनुरोध गरिएको छ।
भारत र चीनसँगका सिमानाका पनि बन्द
आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सिमानाका बन्द गरिएको छ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सरकारले सबै नाका बन्द गर्ने यसअघिको निर्णय कार्यान्वयन गरेको हो।
मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ। अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ। नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन्। तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न गरिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन्।