वाशिङटन डिसी– अमेरिकाले भिसा शुल्क वृद्धिबारे ठुलो निर्णय गरेको छ। अमेरिकी सरकारले एच–वन बी, एल–वन र इवी –५ लगायत नन–इमिग्रेन्ट भिसाको शुल्क बढाएको छ। शुल्क वृद्धि सन् २०२४ को अप्रिलदेखि लागू हुनेछ।
हाल ४६० डलर रहेको एच–वन बी भिसाको शुल्क बढाएर ७८० डलर पुर्याइएको छ। यो भिसाको दर्ता पनि आगामी वर्षदेखि १० डलरबाट बढेर २१५ डलर पुग्नेछ। एल–वन भिसाको शुल्क ४६० डलरबाट बढेर १ हजार ३८५ डलरमा पुगेको छ। इवी –५ भिसाको शुल्क भने ३ हजार ६७५ डलरबाट बढेर ११ हजार १६० डलर कायम गरिएको छ।
एच–वन बी भिसा गैर आप्रवासी भिसा हो। यो भिसा प्रायः अमेरिकी कम्पनीमा काम गर्नेहरू विदेशीलाई दिने गरिन्छ। अमेरिकामा अभाव भएका सीपयुक्त विदेशीहरूलाई काममा लगाउन घरेलु कम्पनीहरूलाई सहज होस् भनेर यो भिसा ल्याइएको हो। यो भिसाको वैधता ६ वर्ष मात्रै हुन्छ।
इवी–५ भिसा भने विदेशी आप्रवासीहरूलाई अमेरिकामा स्थायी बसोबास दिन सन् १९९० मा सुरु गरिएको थियो। यो अघि धनाढ्यहरुका लागि ल्याइएको भिसा हो। अमेरिकामा कम्तीमा ५ लाख डलर लगानी गर्नेलाई यो भिसा दिइन्छ। एजेन्सी