बाक्लियो नेपाल भ्रमण गर्न आउनेको सङख्या,भारत र चीनको प्रतिस्पर्धा - Chaitanya News
  • 2026-06-01
  • 09:53:04
  • सोमबार,जेठ १८, २०८३
  • बाक्लियो नेपाल भ्रमण गर्न आउनेको सङख्या,भारत र चीनको प्रतिस्पर्धा

    बाक्लियो नेपाल भ्रमण गर्न आउनेको सङख्या,भारत र चीनको प्रतिस्पर्धा

    काठमाडौँ– पछिल्लो समय नेपालमा चीन र भारतका उच्चस्तरीय भ्रमण बाक्लिएका छन्। नेपालमा आफ्नो वर्चस्व बढाउन दुई देशबिच प्रतिस्पर्धा नै देखिएको छ।

    एउटा देशको उच्चस्तरीय भ्रमण हुनासाथ त्यसको काउन्टर दिन अर्को देशले भ्रमण गरेकै हुन्छ। र, ती भ्रमण विभिन्न बहानामा हुने गरेका छन्। कोही पार्टीको निमन्त्रणामा आउँछन् भने कोही सरकारको निमन्त्रणामा, कोही विभिन्न संघ संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका हुन्छन्।

    पुस १९ गते भारतका विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएकै दिन चिनियाँ कम्युनिस्ट पार्टीका उपमहासचिव साइ युगाङको नेतृत्वमा चीनको टोली नेपाल आएको थियो।

    चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको बेला भारतबाट पनि उच्चस्तरीय टोली नेपाल आएर फर्किएका छन्।

    उपमन्त्री सुन नेपालमा रहेकै बेला ‘रअ’ पूर्व अधिकारी एवं भारत सरकारका सुरक्षा विज्ञ एबी माथुर नेपाल भ्रमणमा आएका छन्। इण्डिया फाउण्डेशन र साउथ एसियन स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका उनले नेपालमा उच्चस्तरीय भेटघाट गरेका छन्। सोही कार्यक्रममा भाग लिनका लागि इण्डिया फाउण्डेशनका निर्देशक राम माधव, भारतीय जनता पार्टीका प्रवक्ता डा।गुरु प्रकाशलगायत अधिकारी आएका थिए।

    जतिबेला बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स प्रधान सेनापति, राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्रीसँग छुुट्टाछुट्टै भेटघाट गरिरहेका थिए, त्यतिबेला माथुर पनि उच्चस्तरीय भेटघाटमा व्यस्त थिए।

    चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले पनि प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटघाट गरी फर्किसकेका छन्। बुधबार माथुर पनि भारत फर्किन लागेको स्रोतले जनाएको छ।

    प्रतिनिधिसभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदको एउटा टोली यतिखेर भारत भ्रमणमा छ भने फेब्रुअरीको दोस्रो साता कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा।आरजु राणाको नेतृत्वमा २० जनाको टोली भारत भ्रमणमा जाने तयारीमा छ।

    पछिल्लो समय नेपालका जनप्रतिनिधिहरुलाई विभिन्न कार्यक्रममा चीनले निम्त्याउँदै आए पनि कोरोना महामारीपछि भारतमा नेपाली जनप्रतिनिधिको भ्रमण लगभग शून्यको अवस्थामा थियो। तर अब भारतले पनि नेपाली जनप्रतिनिधिलाई निम्त्याउन थालेको छ।