काठमाडौं– सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने भएको छ। अर्बौँ रुपैयाँ लगानी योग्य रकम रहेको कोषले जलविद्युत क्षेत्र लगायतका ठुला आयोजनामा लगानी गर्ने भएको हो। त्यसका लागि कोषले हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलेपमेन्ट एन्ड कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग लगानी सहकार्यको सम्झौता गरेको छ।
आज उर्जा जलस्रोत तथा सिँचार्य मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको उपस्थितिमा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतामा दुवै पक्ष आ–आफ्नो प्रचलित नीति, नियमत तथा निर्णयको अधीनमा रही जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनाहरूमा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने लगायतका विषय उल्लेख गरिएको छ।
कोषमा रहेको रकम निरन्तर बढिरहेको अवस्थामा लगानी योग्य रकम थुप्रिएर बसेको थियो। सम्झौतासँगै अब लगानी गर्ने बाटो खुलेको हो। ऐनले तोकिदिएको क्षेत्रमा सुरक्षित एवम् दिगो प्रतिफलयुक्त तरिकाले कोषले लगानी गर्नेछ। उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता गरिएको कोषले जनाएको छ।
नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेको एचआईडीसीएल, आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनाहरूमा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले कोषको पुँजी र कम्पनीको विशिष्टज्ञानको फ्युजनमार्फत ऊर्जा क्षेत्रमा सिनर्जी प्रभाव सिर्जना हुने बताए।