काठमाडौं– सरकारले एक महिनामै २९ अर्ब रुपैयाँ बराबर स्रोत सहमति प्रदान गरेको छ। त्यसमध्ये सबैभन्दा बढी बजेट मल खरिदका लागि स्रोत सहमति प्रदान भएको हो।
अर्थ मन्त्रालयका अनुसार पुस २०८० मा २९ अर्ब २६ करोड ९८ लाख ९३ हजारबराबर बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको छ।
त्यसमध्ये रासायनिक मल खरिद गर्न मात्र १५ अर्ब १८ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ। यो कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको हो।
सिंहदरबार ग्यालरी बैठकको रेट्रोफिटिङ र श्रीमहल भवन पुनर्निर्माण कार्यका लागि थप स्रोत सहमति दिइएको छ। जसमा क्रमशः ६० करोड र २० करोड रुपैयाँ छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुष्पलाल राजमार्ग र मदन भण्डारी राजमार्गका विभिन्न खण्डका लागि स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ।