काठमाडौं– संघीय संसदका पदाधिकारीहरु संसदको बजेट अपर्याप्त रहेको निष्कर्षमा पुगेका छन्। यही निष्कर्षसहित सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई सामूहिक भेटेर बजेटको आकार बढाउन आग्रह गर्ने भएका छन्।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने मिति र समय भने तय भइसकेको छैन, तर भेट्नका लागि समय मिलाउने प्रयास भइराखेको छ।
संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार गत आर्थिक वर्षमा एक अर्ब ८२ करोड बजेट माग गरेकोमा सरकारले एक अर्ब २२ करोड मात्र दिएको थियो। आगामी आर्थिक वर्षका लागि एक अर्ब ८७ करोड बजेट आवश्यक पर्ने संसद सचिवालयको आकलन छ। बजेट सिलिङको तयारी भइरहेकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर बजेटको आकार बढाउन आग्रह गर्न लागिएको हो।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा मंगलबार सभामुख घिमिरेसहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल थियो। उक्त छलफलमा संसदको बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई संयुक्त रुपमा भेटेर आग्रह गर्ने सहमति भएको थियो। ‘सहमति अनुसार सभामुखले समय मिलाउनुहुन्छ। त्यसपछि सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहित प्रधानमन्त्रीलाई अर्थमन्त्रीलाई एकसाथ भेट्छौं। गत वर्षभन्दा बजेट बढाउन आग्रह गर्छौं,’ जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले भने।
माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे बजेट अभाव भएको भनी संसदले काम कम गर्ने अवस्था आउन नहुने बताउँछन्। कर्मचारीहरुको अतिरिक्त काम गर्दाको समयको सम्बन्धमा समेत सरकारले सम्बोधन गर्नुपर्ने विषय रहेको उनको भनाइ छ।
‘संसदका कर्मचारीहरुले अतिरिक्त काम गरेबापत्त केही नपाउने अवस्था छ। यहीकारण बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै कर्मचारीले काम गर्ने भन्ने हुँदैन। संसदका कामकारबाही आवश्यकता अनुसार कार्यालय समय भन्दा थप हुन सक्छ। यसका लागि लचिलो भएर सरकारले अतिरिक्त सेवा सुविधाका लागि निर्णय दिनुपर्छ।
सभामुखसँगको छलफलमा एमालेका सचेतक महेश बर्तौलाले दशैं भत्ताको विषय समेत उठाएका थिए। सांसदहरुको दशैं भत्ता कटौती भएसँगै सांसद सचिवालयमा काम गर्ने कर्मचारीहरुको पनि दशैं भत्ता कटौती भएको छ। ‘सांसदले नपाउने कुरामा म केही भन्दिनँ । तर, कर्मचारीको के दोषरु बर्तौलाले भनेका छन्, ‘कुनै कर्मचारीले दशैं भत्ता पाउने, कुनै कर्मचारीले नपाउने अवस्था रहनु उचित होइन।
यिनै समग्र विषयमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतसँग एकसाथ भेटेर छलफल गर्ने सहमति संसदका पदाधिकारीहरुका बीचमा भएको हो। त्यसअनुसार भेटका लागि सभामुख घिमिरेले समन्वय गरिरहेका हुन्
।