काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक वर्षमा गरेका मुख्य मुख्य काम र उपलब्धि सार्वजनिक गरेका छन्।
मन्त्रीको जिम्मेवारी सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी किरातीले उपलब्धि सार्वजनिक गरेका हुन्।
केही कानूनको तर्जुमा, सुधार र नियमावलीलाई समय सापेक्ष बनाउने गरी काम अघि बढेको मन्त्री किरातीले जानकारी दिए। दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेण्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउण्डेड नेवानीको टुइनअटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको, क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, नेवानीको सावाँ ब्याजको चार अर्ब किस्ता तिरेको, निगमको सुधारका लागि भए गरेका काम पनि सार्वजनिक गरिएको छ।