प्रधानमन्त्री प्रचण्डको सचिवालयको आकार घट्यो, १३ जनालाई हटाईयो - Chaitanya News
  • 2026-11-16
  • 02:35:57
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रधानमन्त्री प्रचण्डको सचिवालयको आकार घट्यो, १३ जनालाई हटाईयो

    प्रधानमन्त्री प्रचण्डको सचिवालयको आकार घट्यो, १३ जनालाई हटाईयो

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयको आकार घटाइएको छ। सोमबारदेखि सचिवालयबाट १३ जनालाई हटाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले जानकारी दिए।

    सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयले जनाएको छ। पाँच जना स्वकीय उपसचिव, एक जना स्वकीय शाखा अधिकृत, दुई जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई पत्रमार्फत जानकारी गराएको छ।

    बिदा हुनेमा स्वकीय उपसचिव नारायण प्रसाद ढुङ्गाना, रमेश प्रसाद गुरागाईँ, ओम कुमारी पौडेल, सावित्री कुमारी अधिकारी र कल बहादुर नाथ रहेका छन्। यसै गरी बिदा हुनेमा स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायक युवराज शाह र रामलाल पराजुली, कम्प्युटर सहायक वासुदेव शर्मा र खडक योगी, कार्यालय सहायक अविनाश वाइबा, हलुका सवारी चालक रमेश प्रसाद घिमिरे र पवित्र बहादुर शाही रहेका छन्।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन सचिवालयलाई चुस्त बनाउने घोषणा गरेका थिए। एक वर्ष सन्तोषजनक काम नभएको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने सोचमा पनि छन्।