काठमाडौँ– माओवादी केन्द्र बागमती प्रदेशले चार सय १८ वटामा सम्मेलन र भेला गर्न बाँकी रहेको छ। जनतासँग माओवादी विशेष रूपान्तरण अभियानसँगै पुस २ गते काठमाडौँको जमलमा बसेको प्रदेश समितिको पूर्ण बैठकले ९ गते प्रदेशको सबै वडामा सम्मेलन गर्ने निर्णय गरेको थियो।
पुस ९ गतेसम्मको प्राप्त रिपोर्टअनुसार एघार सय २१ वडामध्ये ४१८ वडामा सम्मेलन गर्न बाँकी रहेको हो। प्रदेशको १३ वटा जिल्लामध्ये सिन्धुलीमा एक, ललितपुरमा ३३, काठमाडौँमा १८, चितवनमा ४३ वडा बाँकी छ। यस्तै धादिङमा १३, दोलखा ४६, नुवाकोट २०, रसुवा २०, भक्तपुर २७, मकवानपुर ४१, रामेछाप २९ र सिन्धुपाल्चोकमा ५३ वडामा सम्मेलन हुन बाँकी छ।
बागमती प्रदेशको अभियान सोमबार जमलस्थित नाचघरमा समापन भएको छ। सम्मेलन हुन केही जिल्लामा मात्र बाँकी रहेको नेता हिमाल शर्माले जानकारी दिए। ‘पुस ९ गते सम्मेलन नभएका धेरै वडाहरूमा सम्मेलन भइसकेको छ। तर पछिल्लो विवरण अद्यावधि हुन सकेको छैन’, उनले भने।
सातै प्रदेशको वडास्तरमा अभियान भएको भएपनि वडा सम्मेलन अभियानकै क्रममा बागमतीले मात्र गरेको हो।