मुलुक बर्बादीतर्फ होइन, प्रगतितर्फ गइरहेको छ : शक्ति बस्नेत - Chaitanya News
  • 2026-11-16
  • 02:50:46
  • आइतबार,कार्तिक ३०, २०८३
  • मुलुक बर्बादीतर्फ होइन, प्रगतितर्फ गइरहेको छ : शक्ति बस्नेत

    मुलुक बर्बादीतर्फ होइन, प्रगतितर्फ गइरहेको छ : शक्ति बस्नेत

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले मुलुक प्रगतिको बाटोतर्फ लम्किरहेको बताएका छन्।

    नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा उनले सुशासन, समृद्धि र सामाजिक विकासका दृष्टिकोणले सरकार निकै अगाडि बढेको बताए। ‘अब मुलुक सुशासन, समृद्धि र सामाजिक विकासको एजेन्डा बोलेर सामाजिक न्यायको पक्षमा अगाडि बढेको छ’, मन्त्री बस्नेतले भने, ‘आर्थिक र सामाजिक रूपान्तरणको नयाँ प्रक्रियामा मुलुक अगाडि बढेको छ।’

    मुलुक बर्बाद हुँदै गइरहेको भाष्य तयार गरिरहेको बताउँदै उनले भने, ‘त्यस्तो होइन, प्रगति र उन्नतितर्फ अगाडि बढिरहेको छ। अस्तिभन्दा हिजो र हिजोभन्दा आज प्रगति भइरहेको छ।’ बस्नेतले विद्युत् उत्पादनमा नेपालले पछिल्लो आठ वर्षमा ठूलो फड्को मारेको दाबी गरे।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २ हजार ९०० मेगावाट विद्युत् उत्पादन भइसकेको छ। तीन महिनामा ५०० मेगावाट विद्युत् थप हुँदैछ’, ऊर्जामन्त्री बस्नेतले भने, ‘७८ वर्षमा नेपालमा २२ प्रतिशतले विद्युत् पाइरहेका थिए। अहिले ९८ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगिसकेको छ।

    उनले अहिले २६ लाख घरपरिवारले निःशुल्क विद्युत् प्रयोग गरिरहेको दाबी गरे। ‘यो तथ्यले मुलुक बर्बादीतर्फ गइरहेको छैन, प्रगतितर्फ गइरहेको छ भन्ने पुष्टि गर्छ’, उनले भने, ‘यो तथ्यलाई सही ढंगले अगाडि बढाउनु पर्छ।’ सरकार यही मर्म र भावना आत्मसात् गरेर अगाडि बढिरहेको बस्नेतको भनाइ छ।