काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताएका छन्।
मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी भएका उनले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताएका हुन्। उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गरे। उनले नेकपा एमाले वचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसाबले संगठित र समर्पित रहेको बताए। जनताको काम गरेर एमालेले बनाएको उचाईलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको उनको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन्। निर्वाचनको दिन नजिकिएसँगै नेताहरु अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी छ।