काठमाडौं– नेकपा (माओवादी केन्द्र) नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छन्।
उनले ओली प्रधानमन्त्री हुँदा दुई–दुईपटक संसद विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताएकी हुन्। पूर्वसभामुखसमेत रहेकी घर्तीले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउन र दुई तिहाइ बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुईपटक विघटन गरेर मृत्यु शय्यामा पुर्याउनको लागि पुनः बहुमत चाहिएको हो भन्दै प्रश्नसमेत गरिन्।
उनले ओलीले राष्ट्रियता एजेन्डा कुनै पनि नबोकेको दाबी गरिन् । सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर प्रमुख गोयललाई मध्यरातमा बालुवाटार बोलाएर विभिन्न सहमति गरेको आरोपसमेत लगाइन्।
‘जनताले ५ वर्षका लागि कम्युनिष्टलाई चलाउन दिएको देशको जनादेशलाई कुल्चिएर उहाँले जे अपराध गर्नुपर्छ, उहाँलाई भोट होइन,नेपाली जनताले दण्ड दिनुपर्छ। उहाँले हामीलाई राष्ट्रियताको सवालमा पनि भन्ने गर्नुहुन्छ रे गठबन्धनले राष्ट्रियताको एजेन्डा बोकेन। उहाँले कसरी बोक्नुभयो तरु मध्यरातमा नेपालको हेड क्वार्टर प्रधानमन्त्री निवासमा १२ बजे सामन्त गोयललाई छिराउने को हो? त्यहाँ भएको सहमति के थियो? के के कुरा गरियो? अनि हामीले एउटा चुच्चे नक्सा पारित गरेका थियौँ। हामीले चुच्चे नक्सा पाठ्यक्रममा छापौँ भन्दा छाप्नै नमान्ने को हो? त्यसोभए ओली देशभक्त हो?’ घर्तीले प्रश्न गरिन्।
उनले राज्यको समृद्धिको लागि गठबन्धनले सहमति, सहकार्य र एकताको राजनीति गर्न जरुरी रहेको पनि बताइन्।