काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताएका छन्।
आज (आइतबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन।
जसले नियुक्ति सिफारिस गर्यो उसका सम्बन्धमा मुद्दा पर्दा उसैले (संवैधानिक इजलासमा) मुद्दा हेर्ने र ठीक र बेठीक भनी फैसला गर्नुपर्ने भयो। यसकारण समस्या भएको अभ्यासमा देखियो। यसकारण संविधान संसोधन गरौं र संवैधानिक परिषदको सदस्यबाट प्रधानन्यायाधीशलाई बिदा गरौं’, समिति बैठकमा एमाले सांसद पन्तले भने।
तत्कालीन अवस्थामा दलीय उपस्थितिलाई हेरेर परिषद सदस्यमा उपसभामुलाई पनि राखिएको उल्लेख गर्दै उनले भने, ‘अहिले महिला हुनुहुन्छ त्यसकारण मैले भनेको होइन। तर यो पदको व्यक्ति संवैधानिक परिषदमा अहिले आवश्यक छैन, यो पनि हटाऔं।’
विधेयकमाथि पनि सांसद पन्तको संसोधन प्रस्ताव छ । बैठक बस्नका लागि अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको बहुमत सदस्यलाई गणपूरक संख्या मान्नु पर्ने उनको प्रस्ताव छ। अध्यक्ष असहमत हुँदा समेत बहुमत सदस्य तयार भए बैठक बस्न र निर्णय गर्न सक्ने अवस्थालाई पनि कानुनमा ब्यवस्थित गर्नुपर्ने उनको राय छ।