गठबन्धनमा भागबन्डा टुंगिएपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल - Chaitanya News
  • 2026-11-16
  • 03:33:34
  • आइतबार,कार्तिक ३०, २०८३
  • गठबन्धनमा भागबन्डा टुंगिएपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल

    गठबन्धनमा भागबन्डा टुंगिएपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल

    काठमाडौँ– सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबन्डा टुंगिएपछि चार दलका नेताहरू उम्मेदवार टुंगो छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन्।

    आज (आइतबार) बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी २ र जनता समाजवादीले १ सिट लिनेगरी सहमति भएसँगै ती दल आन्तरिक छलफलमा जुटेका हुन्। उक्त सहमतिपछि कांग्रेसका शीर्ष नेता सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आन्तरिक छलफलमा छन्।

    संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र संसदीय प्रमुख सचेतक रमेश लेखक सहभागी छन् भने इतर पक्षबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापा छन्। आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ।

    यस्तै माओवादी केन्द्रका पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । उक्त बैठकबाट उम्मेदवार टुंगो लगाउने माओवादीको तयारी छ।

    यस्तै एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा चलिरहेको छ। एकीकृत समाजवादीले गठबन्धनमा भएको सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ। ती सिट दाबी गरेपनि दुई मात्र पाएपछि एकीकृत समाजवादी असन्तुष्ट देखिएको छ।

    यता जनता समाजवादी पार्टीको पनि उम्मेदवारको टुंगो लगाउन कार्यकारिणी समितिको बैठक चलिरहेको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको जसपाका नेताहरूले बताएका छन्।

    माघ ११ मा हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ। लामो रस्साकस्सीपछि गठबन्धनमा सिट बाँडफाँट टुंगिएपछि दलहरू उम्मेदवार टुङ्ग्याउन लागि परेका हुन्।