काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच राष्ट्रपति रामचन्द्र पौडेलले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ।
राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रिय सभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ।
राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्तारुढ दलहरूको बैठक निरन्तर बस्दै आएको छ। आइतबार बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ। काँग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ। तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन।
स्रोतका अनुसार राष्ट्रपतिले मनोनीत गर्ने सदस्यबारे पनि सहमति जुटिसकेको छ। यो सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको हो।