राष्ट्रिय सभा निर्वाचन: ११५ वटा जातजातिले अल्पसङ्ख्यक तर्फबाट उम्मेदवारी दिन पाउने - Chaitanya News
  • 2026-11-16
  • 04:18:57
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रिय सभा निर्वाचन: ११५ वटा जातजातिले अल्पसङ्ख्यक तर्फबाट उम्मेदवारी दिन पाउने

    राष्ट्रिय सभा निर्वाचन: ११५ वटा जातजातिले अल्पसङ्ख्यक तर्फबाट उम्मेदवारी दिन पाउने

    काठमाडौँ– आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा अल्पसङ्ख्यक समूहतर्फ ११५ जातजातिले निर्वाचनमा सहभागी हुनका लागि उम्मेदवारी दिन पाउने भएका छन्।

    गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन, ऐन, २०७४ को दफा दुईको खण्ड ख बमोजिम राष्ट्रिय जनगणना, २०७८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसङ्ख्याको ०.५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका दलित बाहेकका ११५ जातजातिको सूची मात्रै राजपत्रमा प्रकाशित गरेको हो।

    पुष पाँच गते मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कम जनसङ्ख्या रहेका दलितबाहेक अल्पसङ्ख्यक जातजातिलाई अल्पसङ्ख्यक रूपमा तोक्ने निर्णय गरेको थियो।

    फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये तीनजना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट रिक्त हुन लागेका छन्।

    निर्वाचन आयोगका अनुसार अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसबाट गण्डकी प्रदेशबाट निर्वाचित प्रकाश पन्थ, नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशबाट निर्वाचित महेशकुमार महरा र नेकपा ९एमाले०बाट बागमती प्रदेशबाट निर्वाचित रामचन्द्र राईको कार्यकाल सकिन लागेको हो।

    नेपालको संविधानको धारा ३०६ को ‘क’ले ‘अल्पसङ्ख्यक’ भन्नाले संघीय कानून बमोजिम निर्धारित प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका जातीय, भाषिक र धार्मिक समूहलाई जनाउँछ। उक्त शब्दले आफ्नै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचाइराख्ने आकाङ्क्षा रहेका, विभेद र उत्पीडन भोगेका समूह समेतलाई जनाउने गरेको छ।

    राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को ‘ख’ मा ‘अल्पसङ्ख्यक’ समुदाय भन्नाले निर्वाचन हुनुभन्दा तत्काल अगाडि भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को उपधारा एकको खण्ड ‘क’ को अधीनमा रहेर सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर तोके बमोजिमका जातीय, भाषिक र धार्मिक समूह हुनुपर्ने उल्लेख छ।

    २०७४ माघ आठ गते गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना अनुसार ९८ वटा अल्पसङ्ख्यक समुदाय रहेका थिए। जम्मा १४२ जातजातिमध्ये दलित बाहेक ११५ जातजाति अल्पसङ्ख्यक जातजातिमा पर्दछन् भने बाँकी १६ वटा जातजाति मात्रै अल्पसङ्ख्यक भन्दा अन्य जातजातिमा पर्दछन्।

    शून्य दशमलव पाँच प्रतिशत भन्दा बढी जनसङ्ख्या हुने जातजातिमा क्षेत्री, ब्राह्मण ९पहाड० मगर, थारु, तामाङ, विश्वकर्मा, मुसलमान, नेवा ९नेवार०, यादव, राई, परियार, गुरुङ, ठकुरी, मिजार, तेली, याक्थुङ (लिम्बु), चमार (हरिजन, राम) कोइरी (कुसवाहा), कुर्मी, मुसहर, धानुक, दुसाध (पासवान, पासी), ब्राह्मण (तराई), मल्लाह, सन्यासी (दसनामी) र केवट रहेका छन्