सप्तरी– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसद्को पहिलो काम हुने बताएका छन्।नेपाली कांग्रेस सप्तरीद्वारा रूपनीमा आयोजित पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व उपसभापति निधिले यस्तो बताएका हुन्।
उनले एमालेको अवरोधका कारण नागरिकता सम्बन्धी कानून नबन्दा सात लाख नेपालीले नागरिकता नपाएर अनेक समस्या भोग्नुपरेको बताए। उनले चुनावपछि सत्ता गठबन्धनको सरकार बन्ने र नागरिकता सम्बन्धी कानून बनाउनु नै त्यसको पहिलो काम भएको उल्लेख गरे।
नागरिकता समस्याको समाधानका लागि कांग्रेसले विगतमा गरेको प्रयासबारे जानकारी गराउँदै नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले कानून बनाउन रोकेको दावी गरे।
उनले नागरिक अधिकारका पक्षमा सरकारले अघि बढाएको विधेयक स्वीकृत नगरेर राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेकोमा आपत्ति जनाए। निधिले ४ मंसिरको चुनावपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता दिलाउने प्रतिबद्धता जनाए।
नागरिकताविहीन नागरिकलाई कानूनी प्रक्रिया पूरा गरेर नागरिकता दिँदा राष्ट्रियता खतरामा भएको भन्ने ओलीका कारण नै राष्ट्रियता खतरामा परेको उनको भनाइ थियो। मधेशी जनतालाई अधिकारसम्पन्न बनाउने सत्ता गठबन्धनको प्रमुख दायित्व भएको र ओली नेतृत्त्वको गठबन्धन ती जनतालाई अधिकारबाट वञ्चित गराउने काममा लागेको पनि उनले आरोप लगाए।
अगुवा कार्यकर्ता भेलामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सप्तरीका सभापति एवं सप्तरी क्षेत्र नं १ का उम्मेदवार रामदेश साह, ३ का उम्मेदवार दिनेशकुमार यादव, प्रदेश सभा ९क० का उम्मेदवार मोहम्मद समिम, ९ख० का उम्मेदवार भगवती यादव, सप्तरी क्षेत्र नं ४ ९ख० का उम्मेदवार इन्द्रदेव यादव लगायतले मधेशी जनताको अधिकार संरक्षणका लागि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका थिए।