मन्त्री रिजालले गरे नौँ महिने प्रगति विवरण सार्वजनिक, निगम ऋण मुक्त गराउनु ऐतिहासिक उपलब्धी - Chaitanya News
  • 2026-11-16
  • 04:08:27
  • आइतबार,कार्तिक ३०, २०८३
  • मन्त्री रिजालले गरे नौँ महिने प्रगति विवरण सार्वजनिक, निगम ऋण मुक्त गराउनु ऐतिहासिक उपलब्धी

    मन्त्री रिजालले गरे नौँ महिने प्रगति विवरण सार्वजनिक, निगम ऋण मुक्त गराउनु ऐतिहासिक उपलब्धी

    काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ९ महिने उपलब्धि सार्वजनिक गरेका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेयताका ९ महिनामा उनले आयल निगमलाई ऋणमुक्त गराएको भन्दै ऐतिहासिक उपलब्धि मानेका छन्।

    निगमले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन विस्तार गरिरहेको साथै भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण र दुवै स्थानमा ग्रिनफिल्ड टर्मिनल बनाउने कार्यको प्रारम्भिक सम्झौता भएको मन्त्रीले उपलब्धिको सूचीमा राखेका छन्।

    आर्थिक वर्ष २०८०र८१ का लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ८ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा मंसिर मसान्तसम्म कुल १९.७१ प्रतिशत (१ अर्ब ६० करोड ४२ लाख रुपैयाँ) खर्च भएको मन्त्रालयले जनाएको छ। उद्योग विभागले भने विनियोजित बजेटको ७३.७३ प्रतिशत खर्च गरिसकेको छ। त्यसपछि कण्ठरोग नियन्त्रण कार्यक्रम (साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड) को ५०।९७ प्रतिशत, नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमको ५०.९६ प्रतिशत खर्च भएको छ।

    मंसिर मसान्तसम्म १७ वटा नीति तथा कानून तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको मन्त्री रिजालले बताए। उनका अनुसार अर्थमा रायका लागि पठाइएको १२ वटा विषयमध्ये ३ वटामा मात्र राय प्राप्त भएको छ।

    निर्यातमा नगद अनुदान कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन भएको छ। मन्त्रीका अनुसार औद्योगिक ग्रामहरूको विकास लागि ६ वटा घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको छ।

    चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म २२ वटा ठुला उद्योग, १५ वटा मझौला, १ हजार ४२ घरेलु तथा साना उद्योग र १० हजार कम्पनी दर्ता भएका छन्।

    यस आर्थिक वर्ष ३८ अर्ब बराबर उद्योगमा वैदेशिक लगानी स्वीकृत गर्ने लक्ष्य लिइएकोमा मंसिर मसान्तसम्म २० अर्ब ६० करोड बराबरको स्वीकृति दिइएको छ। एक सय २० स्थानमा औद्योगिक ग्राम स्थापना भएका छन्।