हामी वीपीको स्कुलबाट दीक्षित भएका हौँ, अप्ठेरो मान्नु पर्दैन : प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 04:32:44
  • आइतबार,कार्तिक ३०, २०८३
  • हामी वीपीको स्कुलबाट दीक्षित भएका हौँ, अप्ठेरो मान्नु पर्दैन : प्रधानमन्त्री

    हामी वीपीको स्कुलबाट दीक्षित भएका हौँ, अप्ठेरो मान्नु पर्दैन : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समकालीन दल र तिनका नेता कुनै न कुनै रूपमा वीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताएका छन्। आज (सोमबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले वीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य र महान् नेता भएको पनि समेत बताए।

    ‘हामी सबै समकालीन दल र नेताहरू कुनै न कुनै रूपमा वीपीको स्कुलबाट दीक्षित हौँ। यो भन्न अब कसैले अप्ठेरो मान्नुपर्ने रहेन’, प्रधानमन्त्री प्रचण्डको भनाई छ। प्रधानमन्त्री प्रचण्डले उच्चतम राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक गणतन्त्र मात्र भएको भन्दै यसमाथि प्रश्न उठाउनु कहीँ न कहीँ निरंकुशताको पक्षधरता हुने बताए।

    तर उनले यो कुरालाई जुन गम्भीरताका साथ जनतामा लानुपर्ने थियो त्यसमा आफूहरूले आत्म समीक्षा गर्नै पर्ने भएको बताए। ‘देशमा अहिले लोकतन्त्र र गणतन्त्र विरोधी भाष्य बनाउने जमर्को गर्ने दुस्साहस किन देखा परेको छ? भन्दा हामीले यो विषयमा कहीँ न कहीँ आत्मसमिक्षा गर्नुपर्ने भएको छ’, प्रचण्डले भने, ‘हामी आफैलाई विकास सम्मृद्धिको आकाङ्क्षाअनुसार ढाल्न जरुरी छ।

    उनले कार्यक्रमका लागि कांग्रेसलाई धन्यवाद दिँदै यो कार्यक्रम सबैले सङ्कल्प गर्ने अवसर भएको र त्यसअनुसार अघि बढे देश र जनताले चाहेको समृद्धि असम्भव नभएको बताए। त्यसक्रममा उनले यो गठबन्धनबाट जनतालाई समृद्धि दिनुपर्ने भन्दै आफूले सुरुमै राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि पहल गरेको भन्दै निर्वाचनपछि आफूले कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको बताए।