ढाका– बंगलादेशमा जनवरी ७ मा आम निर्वाचन हुँदै छ। चुनावमा शेख हसिनाको जित पक्कापक्की भएको धेरैले बताइरहेका छन्। त्यहाँको मुख्य विपक्षी दलले चुनाव बहिष्कार गरिरहेको छ। कयौँ नेता जेलमा छन्। यस्तोमा सत्तारुढ दल आवामी लिगले लगातार चौथो पटक संसदीय चुनाव जित्ने प्रक्षेपण चुलिएका छन्। प्रधानमन्त्री हसिनाले स्वतन्त्र र निष्पक्ष चुनाव गराउँछिन् भन्नेमा विश्वास नभएको बंगलादेशको सबैभन्दा ठुलो विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी (बीएनपी) र उसको सहायक दलले भनिरहेको छ।
हसिनाले पद छाडेर तटस्थ अन्तरिम सरकारको निगरानीमा चुनाव गराउने अनुमति दिनु पर्ने उनीहरूको भनाइ छ। यो माग हसिनाले मानेकी छैनन्। त्यसैले पनि निर्वाचनमा आवामी लिग, उसको सहयोगी र स्वतन्त्र उम्मेदवारले जित्ने देखिएको विश्लेषणहरू आइरहेका छन्। बंगलादेशमा लोकतन्त्र मरिसकेको अनि जनवरीको निर्वाचन नक्कली हुने केहीको भनाइ छ । विगत केही वर्षयता हसिना निरंकुश बन्दै गइरहेको उनका आलोचकहरूले बताइरहेका छन्।
तर अलोकतान्त्रिक बनेको आरोप हसिनाको सरकारले खण्डन गरिरहेको छ। हसिनाको नेतृत्वमा बंगलादेशको अर्थतन्त्रमा ऐतिहासिक प्रगति देखिएको छ। दक्षिण एसियामा बङ्गलादेश सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र बनेको छ। प्रतिव्यक्ति आय गएको दशकमा नै तीन गुणा भएको थियो। गएको २० सालमा त्यहाँ २ करोड ५० लाख मानिसहरू गरिबीको रेखाबाट बाहिर आएको विश्व बैंकको अनुमान छ।
तर पछिल्लो समय महँगी आकासिएर दोहोरो अङ्क नजिक पुगेको छ। विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ। सन् २०२१ को अगस्टमा ४८ करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति अहिले घटेर २० डलरमा आएको छ। यसले तीन महिनाको आयात पनि धान्न पुग्दैन। तर हसिनाको कार्यकालमा राजनीति प्रेरित भएर जेल थुनाको क्रम बढेको छ। हत्या र शोषण पनि बढेको केही आंकडाले देखाएका छन्। एजेन्सी