माघ ११ गते हुँने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा माओवादीबाट को–को भए सिफारिस? - Chaitanya News
  • 2026-11-16
  • 04:50:15
  • आइतबार,कार्तिक ३०, २०८३
  • माघ ११ गते हुँने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा माओवादीबाट को–को भए सिफारिस?

    माघ ११ गते हुँने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा माओवादीबाट को–को भए सिफारिस?

    धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ। नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो।

    रिक्त हुने स्थानमा पदपूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदैछ। निर्वाचनमा भाग लिनका लागि सत्तारुढ गठबन्धन तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र उम्मेदवार छनोटको गृह कार्य भइरहेको छ।

    सत्तारुढ दलबिच सिट संख्या बाँडफाँटबारे ठोस निर्णय भइनसकेकाले आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडि बढाएका हुन्। सुदूरपश्चिममा खाली हुने ३ सिटका लागि सत्तारुढ गठबन्धनभित्र कुन दलले कति उम्मेदवार खडा गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ।

    नेकपा माओवादी केन्द्रभित्र उम्मेदवारको सिफारिस गर्न थालिएको छ । माओवादीभित्र ३० जना बढी आकांक्षी देखिएका छन्। सिफारिसमा पर्नेमा चुनाव हारेका तथा यसअघि सांसद भइसकेकाहरु पनि छन्।

    यो रिपोर्ट तयार पर्दासम्म चार जिल्लाबाट सिफारिस नामावली आएको माओवादी केन्द्रका प्रदेश समिति सचिव जनक बुढाले जानकारी दिए। माओवादी केन्द्रका कैलाली जिल्ला समन्वय समिति संयोजक लाजुराम चौधरीका अनुसार कैलाली जिल्लाबाट १२ जनाको नाम सिफारिस गरिएको छ।

    खुलातर्फ देवराज रेग्मी, दीपक साउद, टीकाराम जैशी, मीन बहादुर सुनार, देवीलाल चौधरीको नाम सिफारिस गरेको छ। महिलातर्फ रेणु चन्द, विमला सिंह, मोतीकला चलाउने, उर्मिला चौधरीको नाम सिफारिस गरिएको छ। त्यस्तै, घाइते आपाङ्गतर्फ प्रेम बायक, पतिराम चौधरी, बिर्खबहादुर महताराको नाम सिफारिस गरी प्रदेश कार्यालयमा पठाएको जिल्ला अध्यक्ष चौधरीले जानकारी दिए।

    त्यस्तै, बझाङ जिल्लाबाट चार जनाको नाम सिफारिस आएको माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले जानकारी दिए। उनका अनुसार खुलातर्फ देवराज रेग्मी र लालबहादुर सोडारी, घाइते आपाङ्गतातर्फबाट गम्भीर थापा र महिलाबाट निशा ठगुन्ना परियारको नाम गरिएको छ। देवीराज रेग्मीको नाम कैलाली र बझाङ्ग गरी दुई जिल्लाबाट सिफारिस भएको छ।

    डोटी जिल्लाबाट लक्ष्मणदत्त जोशी, सिद्धराज भाट, महिलातर्फ अञ्जिता श्रेष्ठ, प्रेमाकुमारी ओली र घाइते आपाङ्गतातर्फ जंग बिक र मीन घर्तीको नाम सिफारिस भएको छ। बाजुराबाट सञ्जय कट्टेलको नाम सिफारिस भएको हो।

    त्यस्तै, कञ्चनपुरबाट खुलातर्फ गोविन्द तिमिल्सिना, महिलातर्फ सरु चौधरी, घाइते आपाङ्गतातर्फ जीत बहादुर करियाकंग्रहुवाको नाम आएको माओवादीका जिल्ला संयोजिक खेम पाण्डेले जानकारी दिए।

    अछाम जिल्लाबाट दिपक साउदको मात्रै नाम सर्वसम्मत सिफारिस गरिएको छ। कैलालीबाट पनि सिफारिस भएका साउदलाई अछामबाट पनि सिफारिस गरेको माओवादी अछामका संयोजक रवीन्द्र साउदले जानकारी दिए।

    त्यस्तै, डडेल्धुराबाट हालसम्म हरि ज्ञवालीको नाममात्रै आएको छ। माओवादी डडेल्धुरा संयोजक उमेश भटट्को अनुसार आकांक्षी धेरै भए पनि हालसम्म ज्ञवालीको नाम मात्रै जिल्ला आएको हो।

    बैतडीमा पनि आकांक्षीहरुका नाम सिफारिस गर्न बाँकी रहेको बताइएको छ। माओवादीका बैतडी संयोजक शंकर भण्डारीले गोपाल चन्दलगायत १२ जना आकांक्षी देखिएको बताए।

    दार्चुला जिल्लाबाट ३ जनाको नाम सिफारिस गरिएको छ। माओवादी दार्चुला जिल्ला संयोजक प्रेम पन्तका अनुसार लक्ष्मणदत्त जोशी, गीता ठगुन्ना, लिला कुँवरको नाम सिफारिस गरिएको हो। लक्ष्मणदत्त जोशीको नाम डोटीबाट पनि सिफारिस भएको हो।

    २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो। गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो।

    राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ।

    पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।