काठमाडौँ– नेकपा एमालेकी सांसद सुनिता बरालले आफ्नो एक वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गरेकी छन्।
गत मंसिरको निर्वाचनबाट समानुपातिकतर्फबाट सांसद भएकी बरालले विगत एक वर्षमा संघीय संसद्का बैठक एवं संसदीय समितिका बैठकहरूमा नीतिगत र सार्वजनिक महत्त्व एवं चासोका विषयमा आफूले खेलेको भूमिका सार्वजनिक गरेकी हुन्।
उनले भनेकी छन्, ‘प्रतिनिधिसभाको सदस्यको रूपमा मेरो जिम्मेवारीलाई मैले प्रयासहरूको मूर्त कार्यान्वयनको चरणसम्म पुर्याउने सङ्कल्पको रूपमा लिएकी छु। सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वयन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी छु।
विधि र व्यवस्थाअनुसार जिम्मेवारी सम्हालेर परिणाम देखाउने अवसर नपाएर प्रतिपक्षमा बसेर सचेत गराउने जिम्मेवारीमा रहेको उनले उल्लेख गरेकी छन्।
जनताका एजेण्डामा सँगै उभिएर गलत क्रियाकलापमा सशक्त खबरदारी गरेको उल्लेख गर्दै सांसद बरालले सदन, सडकमा मतदाता र आमनागरिकसँगै रहेको बताइन्।
उनले संसदभित्र सांसद र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्यको भूमिका आफूले जिम्मेवार भएर निर्वाह गरेको उल्लेख गरेकी छन।